मकवानपुरमा ट्रक दुर्घटना, हामफालेर चालकले जोगाए ज्यान
मकवानपुरमा ब्रेक फेल भएर ट्रक सडकबाट करिब १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको छ। बिहीबार (आज) बिहान करिब ७ बजे मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडा घुम्तीस्थित कान्ति लोकपथ सडकखण्डमा उक्त दुर्घटना भएको हो।
रौतहटको चन्द्रपुरबाट तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत महादेवटारका लागि ह्युमपाइप लोड लिएर जाँदै गरेको ना.१ क ८५३६ नम्बरको ट्रक ब्रेक फेल भएपछि सडकबाट तल खसेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनाका क्रममा ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ निवासी ३६ वर्षीय धनबहादुर विकले ट्रकबाट हामफालेर ज्यान जोगाएका छन्। उनी सकुशल रहेको प्रहरीले जनाएको छ।
ट्रकमा चालक मात्र सवार रहेको र दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया

