खेलकुद विकासमा वडा अध्यक्ष सिग्देलको जोड
हेटौँडा–४ को आयोजनामा सञ्चालन भएको नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा अध्यक्ष सिग्देलले वडा विकासलाई सडक, भवनलगायतका भौतिक पूर्वाधारमा मात्र सीमित नराखी शिक्षा, स्वास्थ्य र खेलकुदलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेकाे बताएका छन् ।
युवाको प्रतिभा पहिचान, क्षमता विकास तथा खेलकुदप्रति आकर्षण बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, सहकार्य र सकारात्मक सोचको विकास गर्ने भएकाले स्थानीय तहबाट खेलकुदका गतिविधिलाई निरन्तर प्रोत्साहन गर्नुपर्ने उनले बताए ।
वडा कार्यालयले भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सिग्देलले उल्लेख गरे । युवालाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा जोड्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ रहेकाे छ ।
प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गरेकी थिइन् । कार्यक्रममा नगर प्रमुख लामाले हेटौँडा–४ ले नगरकै नमुना काम गर्दै आएको बताउँदै वडाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राखेर सञ्चालन गरेका कार्यक्रमको प्रशंसा समेत गरिन् ।
कार्यक्रममा हेटौँडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौँडा–११ की वडा अध्यक्ष जुना दाहाल, मकवानपुरका युवा नेता तथा पूर्व खेलकुद विकास समितिका अध्यक्ष सानु लामा दोङ, वडा सदस्य, खेलाडी, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
नगरस्तरीय क्रिकेट प्रतियोगिताले हेटौँडाका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय स्तरमा क्रिकेट खेलको विकास र विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


