भोटेकोसी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ घाइतेको उद्धार

पालिका डायरी
१० भाद्र २०८३, १७:५७
भोटेकोसी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ घाइतेको उद्धार

रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ।

बाढीपछि विभिन्न स्थानमा गरिएको खोज तथा उद्धारका क्रममा २२ जनाको शव फेला परेको हो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मृतकमध्ये ११ जना पुरुष र ९ जना महिला छन्। थप दुई जनाको शव फेला परे पनि पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार रसुवामा १ जना पुरुषको शव फेला परेको हो भने नुवाकोटमा महिला ५ र ६ पुरुषको शव फेला परेको छ। यस्तै धादिङमा महिला ५, पुरुष २ र पहिचान हुन नसकेको २ गरी ९ वटा र चितवनमा १ महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ६५ जनाको उद्धार गरिएको छ, जसमा रसुवाबाट ४३ जना, नुवाकोटमा १९ जना, धादिङमा ३ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

घाइतेलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा पठाएर उपचार भइरहेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया