बाढीको जोखिम बढेपछि उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल
हेटौंडा / भोटेकोशीको माथिल्लो क्षेत्रमा बाढी आएको सूचना प्राप्त भएपछि बागमती प्रदेशका मुख्यमन्त्री किरन थापा मगरले नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
मुख्यमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल जारी गर्दै रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवनलगायत नदी तथा खोला किनार र तल्लो भूभागमा रहेका बस्तीका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।
उनले नदी तथा खोला किनारमा नबस्न, जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा उच्च स्थानतर्फ सर्न र सम्भावित जोखिमबाट जोगिन आग्रह गरेका छन्।
मुख्यमन्त्री थापाले बाढीको जोखिमबाट बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। साथै, परिवार, छिमेकी तथा आसपासका नागरिकलाई समेत सम्भावित बाढीको जोखिमबारे तत्काल जानकारी गराउन अपिल गरेका छन्।
सम्बन्धित स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धारमा खटिएका निकायबाट जारी हुने सूचना र निर्देशन अनिवार्य रूपमा पालना गर्न पनि उनले नागरिकलाई आग्रह गरेका छन्।
“यो समय सतर्कता र सुरक्षित रहनुपर्ने समय हो,” मुख्यमन्त्री थापाको अपिलमा भनिएको छ। उनले सबै नागरिकलाई “आफू सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित रहन सहयोग गरौँ” भन्दै सम्भावित विपद्बाट जोगिन सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन्।


