छोराको चिरपट प्रहारबाट बाबुको मृत्य
धनकुटाको चौबिसे गाउँपालिका–७, ठुलो ढुङ्गामा छोराले काठको दाउरा (चिरपट) प्रहार गर्दा ७० वर्षीय बाबुको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३२ वर्षीय युवराज लिम्बुलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ५:४५ बजे युवराज लिम्बुले आफ्नै बाबु अन्दाजी ७० वर्षीय अमरध्वज लिम्बुको टाउकोमा काठको दाउरा (चिरपट) प्रहार गरेका थिए। गम्भीर चोट लागेका अमरध्वजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे बिहान करिब ६:१५ बजे अस्थायी प्रहरी बिट मौनाबुधुक, धनकुटामा जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरी सहायक निरीक्षक जयप्रकाश रायको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
घटनाको थप अनुसन्धान, खोजतलास तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा समेत प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनापछि फरार रहेका युवराजको खोजतलास गर्ने क्रममा प्रहरीले बिहान करिब ८:१५ बजे घरबाट करिब ५०० मिटर दक्षिणतर्फको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
पक्राउ परेका युवराजमाथि घटनाको कारण तथा घटनाक्रमबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


