वडाध्यक्ष भन्छन् : भौतिक पूर्वाधारमा मात्रै होइन, भविष्यको कर्णाधारमा खर्च गरौं
हेटौंडा / केही समय अघिसम्म विकास भन्ने बित्तिकै सबैलाई लाग्थ्यो, चिल्ला सडक हुनुपर्छ । पुल निर्माण हुनुपर्छ अनि घरघरमा पानीको धाराको सुविधा हुनुपर्छ । यतीभए विकास भएको मान्ने समाजमा पछिल्लो समय विकासको परिभाषा फेरिएको छ । विकास भनेको भौतिक विकास मात्रै होेइन रहेछ भन्ने चेतनाको स्तर बृद्धि भएको छ । पछिल्लो समय स्थानीय जनप्रतिनिधिहरु समतामुलक समाज निर्माणमा केन्द्रित हुन थालेका थुप्रै उदारहणहरु हाम्रा समाजमा छर्लग्ङ छन् । यसको एउटा बलियो उदाहरण हो हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालय ।
हेटौंडा ४ नम्बर वडा शैक्षिक हबको रुपमा परिचित छ । जिल्लाकै नाम चलेका विद्यालयहरु समेत यही वडामा छन् । भुटनदेवी माध्यामिक विद्यालय देखि आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयसम्म । त्यतिमात्रै होइन, निजी लगानीमा सञ्चालित राम्रा नाम चलेका बोर्डिङ स्कुलहरु समेत यसै वडामा पर्छन् । सोही अनुसार वडा कार्यालयले विभिन्न गुरु योजना नै बनाएर शैक्षिक गुणस्तर बृद्धिमा लगाव बढाइरहेको छ ।
शैक्षिक गुणस्तर बृद्धिका लागि वडा कार्यालयले वडामा रहेका विद्यालयहरुसँगको समन्वयमा समिति नै गठन गरेको छ । गत बर्ष २०७९ मंसिर २६ गते स्थापना भएको शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा ४ वडाभित्रको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको समितिका संयोजक एवंम् श्री श्रमिक माध्यामिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल बताउँछन् । सामुदायिक र संस्थागत विद्यालयबीचको सम्बन्धलाई प्रगाढ बनाएर वडा स्तरीय खेलकुद तथा अन्य शैक्षिक कार्यक्रम आयोजना गर्ने उदेश्यका साथ समिति स्थापना गरिएको दाहाल बताउँछन् ।
समितिमा वडा भित्र रहेका चारवटा सामुदायिक विद्यालय तथा चारवटा निजी विद्यालयका प्रधानाध्यापकहरु रहेका छन् । समितिमा भएका छलफल र समन्वयका आधारमा शैक्षिक गतिविधिहरु आयोजना गरिदैं आएको समितिका संयोजक दाहालको भनाइ छ । शैक्षिक विकासका लागि वडा कार्यालयकै गुरुयोजना अनुसार समिति बनाएर शैक्षिक कार्यक्रम गर्दा विद्यार्थीहरुमा सकारात्मक परिवर्तन आएको छ, संयोजक दाहालले भने, ‘मुख्य कुरा त अघिल्लो बर्ष वडा कार्यालयको आयोजनामा भएको बृहत् शैक्षिक महोत्सव तथा नृत्य प्रतियोगिताले विद्यार्थी तथा शिक्षकहरुमा एक प्रकारको उर्जा बढेको छ ।’
शैक्षिक विकासलाई मध्यनजर गर्दै वडा कार्यालयले विभिन्न कार्यक्रम, तालिम, प्रतियोगिता गरेको थियो । जसमा सबै कार्यक्रमहरु फलदायी भएको शिक्षकहरुको अनुभव छ । बालबालिकाहरुको सिकाईको पहिलो पाइला अर्थात् बालकक्षामा बालबालिकालाई कसरी खेल्दै, पढ्न सिकाउने भन्ने उदेश्यले गत पौष २१, २२ र २३ गते बालकक्षाको शैक्षिक सामाग्री निर्माण तालिमको आयोजना गरेको थियो । जसमा ८ वटा विद्यालयका झण्डै दुई दर्जन भन्दा बढी शिक्षिकाहरु यस तालिममा सहभागी भए । तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै जाने क्रममा हाल यस वडामा रहेका विद्यालयका बालकक्षाहरुमा बाल सिकाईका शैक्षिक सामाग्रीहरु आवश्यकता अनुसार निर्माण गर्दै आइरहेको समितिका कोषाध्यक्ष तथा भुटनदेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहाल बताउँछन् ।
यस्तै, गणित शिक्षकका लागि तालिम, पाठ्यक्रम प्रबोधिकरण तालिम तथा बृहत् शैक्षिक नृत्य तथा गायक प्रतियोगिता लगाएतका कार्यक्रमहरु सम्पन्न गरेको यस वडाले चालु आर्थिक बर्षमा पनि शैक्षिक क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने वडाध्यक्ष नविन सिग्देल बताउँछन्। यस बर्ष पनि आउँदो माघ १२ गते बृहत् शैक्षिक प्रदर्शनी नृत्य तथा गायन प्रतियोगिता गर्ने तयारी गरेको अध्यक्ष सिग्देलको भनाइ छ ।
शनिबार हेटौंडामा असल अभ्यासहरु प्रस्तुती तथा शैक्षिक कार्ययोजना सम्बन्धि छलफल कार्यक्रममा वडाले गर्दै आएको शैक्षिक गतिविधिको बिषयमा बोल्दै अध्यक्ष सिग्देलले वडामा रहेका श्रमिक माध्यामिक विद्यालयको स्तरीकरणको लागि ५ लाख रुपैंया, आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयमा साइन्स ल्याबको लागि १५ लाख र डेक्स बेन्च निर्माणको लागि ५ लाख रुपैंया छुट्याएको जानकारी गराए ।
यस्तै, हेटौंडा क्याम्पसमा होटल म्याजनेजमेन्ट पढाउनका लागि ८ लाख रुपैंया, ओम साइ स्कुलको लागि ३ लाख रुपैंया छुट्याएको अध्यक्ष सिक्देलले बताए । साथै स्काउट प्रबद्र्धन कार्यक्रम, शिक्षक भलिवल कार्यक्रम लगाएतका लागि पनि वडाले आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।
वडाको ८ वटै विद्यालयहरुले असल अभ्यासको प्रस्तुतीकरण प्रस्तुत गरेका थिए भने आगामी दिनहरुमा वडाले विद्यालयहरुलाई गर्नुपर्ने सहयोगको बारेमा समेत छलफल भएको थियो । जसमा यही माघमा हुने बृहत शैक्षिक मेला तथा सांस्कृतिक मेलाको तयारीको बारेमा सकेत छलफल गरिएको थियो ।
सामुदायिक तथा संस्थागत विद्यालयबीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले हेटौंडा–४ वडा कार्यालयको आयोजनामा अघिल्लो बर्ष शैक्षिक मेला हुन सम्पन्न गरिएको थियो । वडाभरका विद्यालयको स्टल, स्थानीय उत्पादन तथा महिला उद्यमीको सीपहरुले आकर्षण गर्ने मेलामा ९ हजार भन्दा बढी मानिसहरुले अवलोकन गरेका थिए ।