सेल्फी डाँडामा ८ फिट अग्लो बुद्ध मूर्ति स्थापना गरिने
हेटौंडा उपमहानगरपालिका–१० स्थित सेल्फी डाँडामा भगवान् गौतम बुद्धको ८ फिट अग्लो मूर्ति स्थापना गर्ने कार्यको शुभारम्भ गरिएको छ। हेटौँडा १० नम्बर वडाको पहलम शनिबार (आज) संविधान दिवसका अवसरमा विधिपूर्वक भूमि पूजा तथा धार्मिक अनुष्ठान गरी मूर्ति स्थापना कार्यको शुभारम्भ गरिएको हो।
कार्यक्रममा भुटनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारी, वडा सदस्य, डा. टोनी हेगन पार्कका अध्यक्ष, माछामासु व्यवसायी संघका अध्यक्ष, पूर्व खेलकुद विकास समितिका अध्यक्ष, धर्मगुरु, टोल विकास संस्थाका अध्यक्ष, बुद्धिजीवी, समाजसेवी, टोलवासी तथा विभिन्न युवा क्लबका अध्यक्षलगायतको सहभागिता थियो।
वडा अध्यक्ष फुर्वा दोर्जे लामाले भगवान् बुद्धको शान्ति, करुणा, अहिंसा र सद्भावको सन्देश प्रवाह गर्दै सेल्फी डाँडालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले मूर्ति स्थापना गर्न लागिएको बताए।
उनले मूर्ति स्थापना कार्यको शुभारम्भमा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै सुन्दर, सफा र स्वस्थ हेटौंडा निर्माणका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए।



