डुबानमुक्त बन्दै हेटौँडा–४ : सडक स्तरीकरणदेखि ढल व्यवस्थापनसम्म, विकासका कामले बदलिँदै वडाको स्वरूप

पालिका डायरी
९ आश्विन २०८३, १८:१२

हेटौँडा /  वर्षायाममा डुबान र सडकमा जम्ने पानीको समस्याले हैरान हुँदै आएका हेटौँडा उपमहानगरपालिका–४ का बासिन्दाले अब राहतको अनुभूति गर्न थालेका छन्। वडा कार्यालयले सडक स्तरीकरण, ढल व्यवस्थापन तथा कालोपत्रे ओभरलेपिङलाई प्राथमिकतामा राखेर काम अघि बढाएसँगै वडा क्रमशः डुबानमुक्त बन्ने दिशामा अघि बढेको छ।

वडा अध्यक्ष नवीन सिग्देलका अनुसार हुप्रचौरस्थित पानी ट्याङ्कीबाट पशुपति मन्दिर जाने सडक स्तरीकरणको काम अघि बढिसकेको छ। हेटौँडा उपमहानगरपालिका र सडक बोर्डको साझेदारीमा बजेट व्यवस्थापन गरिएको उक्त सडकको टेन्डर प्रक्रिया पूरा भई निर्माण कार्यसमेत अघि बढेको उनले जानकारी दिए।

विशेषगरी वर्षायाममा पानी जम्ने तथा आवागमनमा समस्या हुने हुप्र पानी ट्याङ्की–पशुपति मन्दिर सडक स्तरीकरण भएपछि हेटौँडा–४ को मुख्य डुबान समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।

यससँगै हेटौँडा बजार क्षेत्रको व्यस्त अजरअम्बर रोडमा कालोपत्रे ओभरलेपिङ, खोपे गल्लीमा कालोपत्रे ओभरलेपिङलगायतका कामसमेत तत्काल अघि बढाउने तयारी गरिएको अध्यक्ष सिग्देलले बताए।

अध्यक्ष सिग्देलका अनुसार यसअघि नै पारिजातपथ दाजुभाइ अगाडिको क्षेत्र, प्रजातान्त्रिक पथ ब्रह्मदिक अगाडि, गर्दोही क्षेत्र, हेटौँडा क्याम्पस जाने सडक तथा गरुडा पथभित्रका सडकमा डुबानको समस्या न्यूनीकरण गरिएको छ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ मा पनि सडक स्तरीकरण, ढल व्यवस्थापन, सडक सुधार तथा अन्य पूर्वाधारका कामलाई तीव्रता दिइएको छ। वडाले यस आर्थिक वर्षका लागि विभिन्न सडक स्तरीकरण, ढल तथा पेटी निर्माण र कच्ची सडक सुधारका योजनालाई प्राथमिकतामा राखेको उनले जानकारी दिए।

अब पानी पर्दा सडकमा निस्कन डराउनुपर्ने अवस्था नरहेको भन्दै वडामा भइरहेका सडक तथा ढल व्यवस्थापनका कामप्रति स्थानीयवासीमा समेत सकारात्मक धारणा देखिन थालेको छ। वर्षौंदेखि वर्षाको समयमा सडकमा पानी जम्ने, खाल्टाखुल्टी हुने र आवागमनमा समस्या भोग्दै आएका नागरिकहरू सडक स्तरीकरण र ढल व्यवस्थापनका काम अघि बढ्नुलाई राहतको विषयका रूपमा लिइरहेका छन्।

स्थानीयवासीका लागि विकासको अर्थ केवल नयाँ संरचना निर्माण गर्नु नभई दैनिक जीवनमा आइपर्ने समस्या समाधान हुनु पनि हो। त्यसैले डुबान नियन्त्रण, सडकको गुणस्तर सुधार र नियमित आवागमन सहज बनाउने कामले वडावासीको प्रत्यक्ष जीवनसँग जोडिएको विकासको अनुभूति गराउने देखिन्छ।

भैरवरोड क्षेत्रमा समेत पुरानो ढल प्रणालीका कारण उत्पन्न डुबान समस्या समाधान गर्न मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइएको छ। प्राविधिक अध्ययनका क्रममा चिसापानी चोकको ढल चेम्बर भासिएको र पानी निकासमा अवरोध देखिएपछि मर्मत कार्य सुरु गरिएको वडा अध्यक्ष सिग्देलले बताए।

अध्यक्ष सिग्देलले विकासका काममा भाषणभन्दा परिणामलाई प्राथमिकता दिइएको बताउँदै आएका छन्। हेटौँडा–४ मा सडक, ढल, ज्येष्ठ नागरिक कक्षलगायतका पूर्वाधार निर्माणलाई निरन्तरता दिइएको उनको भनाइ छ।

वडावासीका लागि भने विकासको वास्तविक मूल्याङ्कन सडकमा देखिने सुधार, वर्षामा नजम्ने पानी, सहज आवागमन र दैनिक जीवनमा हुने सुविधाबाट हुनु हो। यही कारण पछिल्लो समय भइरहेका सडक स्तरीकरण तथा डुबान नियन्त्रणका कामले स्थानीयस्तरमा चासो र सकारात्मक अपेक्षा बढाएको पाइन्छ।

हुप्र पानी ट्याङ्कीबाट पशुपति मन्दिर जाने सडक स्तरीकरण सम्पन्न भएपछि हेटौँडा–४ का प्रमुख डुबानग्रस्त क्षेत्रको समस्या समाधान हुने र बाँकी सडक तथा ढल व्यवस्थापनका कामले निरन्तरता पाए वडा क्रमशः डुबानमुक्त बन्ने वडा अध्यक्ष सिग्देलले बताए।

प्रतिक्रिया