जनगणनाले देखाओस् मुलुकको वास्तविक मुहार

पालिका डायरी
१ आश्विन २०७८, ११:४१
जनगणनाले देखाओस् मुलुकको वास्तविक मुहार

केन्द्रीय तथ्यांक विभागले ‘मेरो जनगणना, मेरो सहभागिता’ नाराका साथ १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरण सुरु गरेको छ, जसलाई सरकार र समाजका सबै तह र तप्काले सफल तुल्याउन जरुरी छ ।

पूर्वनिर्धारित तालिका कोभिड–१९ महामारीका कारण प्रभावित भएपछि पहिलो चरण असोज १८ भित्र र दोस्रो चरण कात्तिक २५ देखि मंसिर ९ भित्र सम्पन्न हुने गरी नयाँ तालिका बनाइएको हो । यसपालि ७ प्रदेश र ७५३ स्थानीय तहबाट तथ्यांक संकलन गरिँदै छ, नयाँ संविधान र संघीयता लागू भइसकेपछि हुन गइरहेको जनगणनाले संविधानप्रदत्त मैलिक हक–अधिकार तथा सामाजिक सुरक्षाका प्रावधानहरूलाई थप प्रभावकारी बनाउन सघाउनेछ ।

जनगणनाजस्तो जटिल प्रक्रिया सरकार र समाजका सबै तह र तप्का अनि नागरिकको समान सहभागिताबिना सफल हुन्न । त्यसैले यसका विधि, प्रक्रिया र फाइदाबारे व्यापक प्रचार–प्रसार गरिनुपर्छ ताकि कुनै व्यक्ति तथा समुदाय यस प्रक्रियामा नछुटून् । जनगणनाबाट संकलित तथ्यांकको बहुआयामिक महत्त्व छ । यसले देशवासीको यथार्थ मुहार त बताउँछ नै, राज्यका तीनै तहमा नीति–नियम र योजना निर्माणका लागि पनि दिशानिर्देश गर्नेछ । त्यही भएर यसलाई सफल बनाउन सरकार र नागरिक दुवै जुट्नुपर्छ । आफ्नो सरोकारलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको नीतिसँग जोड्ने यो अवसरको लाभ हरेक नागरिकले उठाउने वातावरण बनाउन सम्बद्ध निकायहरू दत्तचित्त भएर लाग्नुपर्छ ।

तथ्यांक संकलन र व्यवस्थापनको जिम्मेवार निकाय केन्द्रीय तथ्यांक विभागले परिवर्तित प्रणालीलाई मध्यनजर गर्दै ७ प्रदेश र ८० जिल्ला जनगणना कार्यालय सञ्चालनमा ल्याएको छ, ३४९ स्थानीय जनगणना कार्यालय स्थापनाका क्रममा छन् । यी कार्यालयहरूले जनगणनाका प्रश्नावली र संकलन गरिएका तथ्यांकहरूको सुरक्षा, अनुगमन, सुपरिवेक्षणलगायतका काम गर्छन् । पूर्वतयारी, तथ्यांक संकलन, तथ्यांक प्रमाणीकरण, विश्लेषण र प्रचारप्रसार जनगणनाका मुख्य चरण हुन् । विभागले नमुना जनगणना गरेर प्रश्नावली परिमार्जन र पूर्वतयारीका अन्य कामहरू लगभग सकेको जनाएको छ । त्यसैले तथ्यांक संकलनको यस सुरुआती चरणमा जनगणनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गणक–सुपरिवेक्षकसँग सम्बन्धित विषयलाई ध्यान दिइनुपर्छ ।

विश्वसनीय तथ्यांकका निम्ति गणक–सुपरिवेक्षकको महत्त्वपूर्ण भूमिका हुन्छ । सुपरिवेक्षकहरू दक्ष छानिएर मात्रै पुग्दैन, तथ्यांक संकलनका क्रममा उनीहरूले आफ्नो सीप र जाँगर प्रस्तुत गर्नु पनि पर्छ । अघिल्लो जनगणनामा सामुदायिक विद्यालयका शिक्षकहरूलाई गणक तथा सुपरिवेक्षकका रूपमा खटाइने गरिन्थ्यो, यसपालि भने स्थानीय भाषा–संस्कृतिको ज्ञान भएका सम्बन्धित स्थानीय तहका १२ कक्षा उत्तीर्ण युवाहरू अनलाइन आवेदनका आधारमा छनोट भइरहेका छन् । आफ्नै गाउँठाउँका, भाषा–संस्कृति बुझेका गणकसामु उत्तरदाताले सहज महसुस गर्न सक्छन्, सजिलै खुल्न सक्छन् । गणकहरू स्थानीय नभएकै कारण अघिल्ला जनगणनाहरूमा जनजाति, दलित, मधेसी, मुस्लिम, अपांगता भएका व्यक्तिलगायत अल्पसंख्यक समुदायका तथ्यांक छुटे भन्ने गुनासोलाई यसपालि सम्बोधन गर्न खोजिनु सकारात्मक छ ।

यसपालि लैंगिक अल्पसंख्यक समुदायको तथ्यांक लिन जनगणनाको घरमूलीको सूचीमा महिला, पुरुष र अन्य लिंग समावेश गरिएको छ, जुन अर्को सकारात्मक सुरुआत हो । यसबाट सम्बन्धित समुदायका लागि आवश्यक नीति–कार्यक्रम तर्जुमा गर्न मद्दत पुग्नेछ । यस्तो तथ्यांक संकलन गर्न सजिलो भने छैन, आफ्नो अति व्यक्तिगत विषयमा जोकोही सजिलै खुल्दैनन्, अझ यस्ता प्रश्नको संवेदनशीलता गणकहरूले बुझेनन् भने वास्तविक तथ्यांक–जानकारी नै आउँदैन । त्यसैले सबै गणक–सुपरिवेक्षकहरूलाई तथ्यांक संकलन गर्नुअघि नै यस्ता प्रश्नहरूबारे उचित प्रशिक्षण दिइनुपर्छ ।

जातजाति र भाषाबारे पनि वास्तविक तथ्यांक संकलनका निम्ति गणकहरू त्यति नै सचेत र गम्भीर हुन आवश्यक छ । २०५८ सालको जनगणनामा १०१ जातजाति थिए भने ९२ भाषा, २०६८ मा आइपुग्दा बढेर १२५ जातजाति र १२३ भाषा भए । हाम्रो देशमा जति पनि जातजाति र भाषाभाषी छन्, तिनको यथार्थ चित्र जनगणनामा आउनुपर्छ । यस्तै अर्को ख्याल गर्नुपर्ने विषय हो— गणक–सुपरिवेक्षकको कार्यभार । विभागका अनुसार ३९ हजार गणक तथा ८ हजार ५ सय सुपरिवेक्षकले अनुमानित ८० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनमा सम्पन्न गर्नुपर्नेछ ।

प्रत्येक घरमा विस्तृत प्रश्नावली सोधिने भनिएको छ, जसमा ५४ वटा प्रश्न छन् । काम र समयको अनुपातमा गणक–सुपरिवेक्षकको संख्या नपुग्न सक्छ । हतार–हतार तथ्यांक संकलन गर्दा प्रश्नहरू छुट्न सक्छन् । त्यसो भएमा संकलित तथ्यांकले देखाउने चित्र अपुरो हुने जोखिम हुन्छ । त्यसैले गणकहरूको सुविधा पक्षमा उदार भएर पनि सही तथ्यांक ल्याउन जोड दिइनुपर्छ । नागरिकहरूले पनि प्रश्नावली लामो भएकामा झन्झट नमान्दै यथार्थ बताउनुपर्छ, गणक–सुपरिवेक्षकले मात्र नभएर स्थानीय सरकार तथा विभिन्न सामाजिक–राजनीतिक संघ–संगठनहरूले यसको महत्त्व दर्साउनुपर्छ । सबैको ठोस प्रयास भएमा मात्रै कोही नछुट्ने र कोही नदोहोरिने सुनिश्चित हुन्छ, र जनगणनाबाट मुलुकको सही मुहार बाहिर आउनेछ ।

प्रतिक्रिया