मकवानपुरमा लालकिल्ला भत्कन नदिने प्रयासमा एमाले

पालिका डायरी
१ मंसिर २०७९
प्रतिनिधि सभा निर्वाचन : मकवानपुरमा एमालेले जोगाउला विरासत ?

सुनिता बिष्ट

 

हेटौंडा /  मकवानपुर नेकपा एमालेको लालकिल््लाको रुपमा परिचित जिल्ला हो । स्थानीय तहको निर्वाचन देखि प्रदेश तथा संघीय निर्वाचनमा समेत आफ्नो वर्चस्व बनाउँदै आएको एमाले मकवानपुरको साख गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भने भत्कन पुग्यो । १० स्थानीय तहहरु मध्ये भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र केहि वडाहरुमा मात्रै जित निकालेको एमालेलाई आगामी मंसिर ४ को निर्वाचनमा आफ्नो विरासत यथावत् राख्ने तयारीमा जुटेको छ ।

१० वटा स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले हात पार्ये भने भीमफेदी गाउँपालिकाको अध्यक्ष एमालेको पोल््टामा पर्यो । १० मध्ये २ गाउँपालिकामा मात्रै जित हासिल गरेको एमाले मकवानपुर आगामी मंसिर ४ को निर्वाचनमा संघ र प्रदेशमा आफ्नो विरासत यथावत राख्न चुनौती थपिएको छ ।

दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दुवै क्षेत्रबाट नेकपा एमालेकै जित भएको थियो । क्षेत्र नम्बर १ मा कृष्णप्रसाद दाहाल र २ मा विरोध खतिवडा विजयी भएर संघीय सांसद बनेका थिए । ०७४ सालको निर्वाचनमा राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै दाहाल प्रतिनिधिसभा सदस्य बनेका हन् ।

यता, मकवानपुर–२ मा तत्कालीन एमालेबाट विरोध खतिवडा विजयी भएका थिए । ०७४ को निर्वाचनमा खतिवडाले कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ लाई ११ हजार ९ सय ६३ मतान्तरले पराजित गरेका थिए । खतिवडाले ४४ हजार ७ सय ४४ मत प्राप्त गर्दा डिनाको पोल्टामा ३२ हजार ६ सय ८१ मत परेको थियो ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा मात्रै होइन, विगत ३ दशक भन्दा लामो समय देखि मकवानपुर एमालेको गढमा रुपमा चिनिदैं आएको छ । तर आगामी मंसिर ४ को निर्वाचनमा भने एमाले मकवानपुरलाई आफ्नो लालकिल्ला भत्कने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । कारण हो लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार । जसकारण यसपटक मकवानपुरको दुवै प्रतिनिधिसभा क्षेत्रमा एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती बनेको छ । यद्यपी, एमालेले मकवानपुरको क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा एमाले सबैभन्दा ठुलो दल भएको कारण मंसिर ४ को निर्वाचनमा पनि जित सुनिश्चित रहेको बताउँछन् । उनले भने, ‘विगत ३० बर्षदेखि सधैं जितिरहेको नेकपा एमालेले यो पटक पनि जित हासिल गर्ने छ । एमाले सबैभन्दा धेरै जनमत रहेको पार्टी र हाम्रो राप्रपा नेपाल पार्टीको पनि राम्रै जनमत रहेका कारण आगामी निर्वाचनले विरासत भत्किएला भन्ने सोचिरहनु पर्दैन ।’

यता क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौला एमालेकै जित सुनिश्चित रहेको र लालकिल्ला कायम राख्न आफूहरुले गरेको मेहेनत खेर नजाने बताउँछन् । हामीले सँधै राम्रा विकासका कामहरु गरेका छौं । यसलाई नै आधार मानेर पनि गठबन्धनमा रहनुभएका मतदाताहरुले हामीलाई नै मत दिनुहुनेछ । मतदाताहरु नयाँ अनुहारले गर्ने विकास हेर्न आतुर छन् । त्यसैले गठबन्धनले मकवानपुरमा विरासत भत्काउला भन्ने लाग्दैन । जनताले राम्रालाई चुन्नुहुनेछ, उनले भने ।

त्यसोत, जिल्लामा नेकपा एमालेको विरासतलाई कायम राख्न पार्टीले ठोस कदमको साथ प्रचारप्रसारमा लागिरहेको बताउँदै आएको छ । गत निर्वाचनमा जस्तै गरी आगामी निर्वाचनमा पनि जिल्लाको दुवै क्षेत्रबाट एमालेकै प्रतिनिधि सांसद सदन पुग्ने नेकपा एमाले जिल्ला सचिव नवीन सिक्देलले बताए ।

निर्वाचन परिचालन कमिटीले प्रदेश र संघीय दुवै तर्फको उम्मेदवारहरुको सम्पूर्ण प्रचारका कामहरु सम्पन्न भैसकेको बताइएको छ । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा एमालेको विरासतमा खलल आएपनि संघ र प्रदेश निर्वाचनमा जसरी पनि आफ्नो लालकिल्ला भत्कन नदिने गरी प्रचारमा जोड दिइएको निर्वाचन परिचालन कमिटी संयोजक अनन्त पौडेलको दावी छ ।

त्यासोत, एमालेलाई आफ्नो विरासत कायम राख्न प्रतिनिधि सभा क्षेत्र १ मा कमल थापाले सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंलाई पराजित गर्नुपर्ने चुनौती छ भने क्षेत्र नम्बर २ का उम्मेदवार बर्तौलाले पूर्व स्वास्थ्य मन्त्री एवंम् गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडालाई पराजित गर्न चुनौती छ । एमालेले मकवानपुरमा विरासत जोगाउन गरेको पहलकदमीले सार्थकता पाउला नपाउला त्यसको प्रतिफल भने मंसिर ४ गते पछि मात्रै थाहा हुने निश्चित छ ।

प्रतिक्रिया