फोहोर व्यवस्थापन सुधार्न नवीन सिग्देलको पहल : टोल विकास संस्थासँग समन्वय बैठक

राम कुमार दानी
१३ आश्विन २०८३, २०:४६

हेटौँडा /  हेटौँडा उपमहानगरपालिका–४ मा फोहोरमैला व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विषयमा वडा कार्यालयले टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिसँग समन्वय बैठक गरेको छ।

वडामा भइरहेको सरसफाइ तथा फोहोरमैला व्यवस्थापनको अवस्थाबारे छलफल गर्न आयोजित बैठकमा टोल विकास संस्थाका प्रतिनिधिहरूले फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या र सुधारका उपायबारे धारणा राखेका थिए।

बैठकमा विशेषगरी कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन नगर्दा टोल तथा छिमेकमा दुर्गन्ध फैलिने गरेको गुनासो प्रतिनिधिहरूले गरेका थिए। उनीहरूले नगरपालिकाले फोहोरको प्रकृतिअनुसार अनिवार्य रूपमा छुट्याउने व्यवस्था प्रभावकारी ढंगले लागू गर्न सके फोहोर व्यवस्थापन थप व्यवस्थित हुने सुझाव दिएका छन्।

वडा अध्यक्ष नवीन सिग्देलले नगरपालिका र वडा कार्यालयबीचको साझेदारी तथा सम्बन्धित फोहोर व्यवस्थापन संस्थासँगको समन्वयमार्फत हेटौँडा–४ को फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित बनाउन पहल गर्ने बताएका छन्।

उनले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी पाएको सम्बन्धित संस्थालाई नागरिकले पाउने सेवामा सहजता र प्रभावकारितालाई प्राथमिकता दिन आग्रह गरे। फोहोर संकलनका लागि टोल–छिमेकमा पुग्दा उपयुक्त साइरन वा संकेतको प्रयोग गर्नसमेत उनले सम्बन्धित पक्षलाई सुझाव दिएका छन्।

सिग्देलले नगरपालिकासँग भएको सम्झौता र निर्धारित मापदण्डअनुसार फोहोरमैला व्यवस्थापनको काम गर्न सम्बन्धित फोहोर संकलन गर्ने संस्थालाई आग्रह गर्दै सेवा प्रवाहमा कुनै कमजोरी भए त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए।

उनले टोलवासीलाई पनि फोहोर संकलन गर्ने गाडी आउने समयलाई ध्यानमा राख्दै आफ्नो घर तथा वरपरको फोहोर समयमै गाडीमा राख्न आग्रह गरे। फोहोर संकलनमा समस्या देखिएमा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर लिएर समन्वय गर्नसमेत उनले टोलवासीलाई अनुरोध गरेका छन्।

वडा अध्यक्ष सिग्देलले फोहोरमैला व्यवस्थापन केवल वडा वा नगरपालिकाको मात्र जिम्मेवारी नभई वडा कार्यालय, टोल विकास संस्था, फोहोर संकलन गर्ने संस्था र नागरिक सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सरसफाइ अभियानलाई प्रभावकारी बनाउन सबै पक्षबीच निरन्तर समन्वय आवश्यक रहेको बताए।

बैठकमा हेटौँडा–४ का वडा सचिव रामप्रसाद गुरागाईंलगायत वडा कार्यालयका कर्मचारी तथा हेटौँडा–४ अन्तर्गतका सबै टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

हेटौँडा–४ मा हाल २६ वटा टोल विकास संस्था रहेका छन्। वडा कार्यालयले ती संस्थासँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै सरसफाइ तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले बैठक आयोजना गरेको जनाएको छ।

प्रतिक्रिया