कार्यसम्पादन सम्झौतापछि बजेट कार्यान्वयनमा तीव्रता दिन मुख्यमन्त्री थापाको निर्देशन

पालिका डायरी
१३ आश्विन २०८३, १७:३४

हेटौँडा / बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री किरण थापासमक्ष मन्त्रीहरू र प्रमुख सचिवले कार्यसम्पादन करार सम्झौता गरेका छन्।

प्रदेश सरकारले नतिजामुखी रूपमा कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न कार्यसम्पादन करार सम्झौता गर्ने गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले प्रदेश सरकारका नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा सबैले आ–आफ्नो जिम्मेवारीअनुसार सक्रिय भएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले मन्त्रीहरूले सचिवसँग तथा सचिवहरूले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरी सम्झौताअनुसारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

चालु आर्थिक वर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले अब निर्धारित समयभित्र बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। विशेषगरी विकाससँग सम्बन्धित मन्त्रालय तथा कार्यालयहरूले काममा ढिलासुस्ती गरे वार्षिक प्रगति हासिल गर्न कठिन हुने भन्दै उहाँले काममा तीव्रता दिन निर्देशन दिनुभयो।

मुख्यमन्त्रीले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि बितिसकेको दुई महिनाको समयलाई समेत ध्यानमा राख्दै आगामी दिनमा कामको गति बढाउन आग्रह गर्नुभयो। मन्त्रालय र मातहतका कार्यालयहरूले बजेटमा समावेश गरिएका कार्यक्रमको नियमित कार्यतालिका बनाएर तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यसम्पादन सम्झौताले प्रदेश सरकारका कार्यक्रम तथा आयोजनालाई निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्दै नतिजामुखी प्रशासन सञ्चालन गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया