हेटौंडा–काठमाडौं आवत जावत गर्ने कुलेखानी सडक खुल्यो
मर्मतका लागि ३ दिनका लागि बन्द गरिएको हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ । इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलाको डाइभर्सन मर्मतपछि आइतबार (आज) साँझबाट सडक सञ्चालनमा आएको हो ।
असोज १२ गतेको आएको बाढीपहिरोले सडक बगाएपछि डाइभर्सन निर्माण गरी वैकल्पिक मार्ग खुलाईएको थियो । उक्त मार्ग भासिएर गाडि चलाउन मुस्किल भएपछि पुनः सोही स्थानमा मर्मत गरिएको प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । मर्मत पछि अब दुवैतर्फ सवारी चलाउन मिल्ने भएको बताइएको छ ।
डाइभर्सनमा ह्यूम पाइप थप्ने र सडक चौडा बनाउने कार्यका लागि सडकखण्ड कार्तिक २ गतेबाट ३ दिन बन्द गरिएकोमा सडक मर्मतगरी आइतबार साँझबाटै सञ्चालनमा ल्याउन सकिएको मकवानपुर प्रहरीका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जनाकारी दिए ।
उनका अनुसार तीव्र रुपमा काम हुँदा तोकिएको समय अगावै डाइभर्सन मर्मतको काम सकिएर सडक सञ्चालनमा आएको हो ।