हेटौंडामा १५२ ज्येष्ठ नागरिक सम्मानित
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले ३६ औँ ज्येष्ठ नागरिक दिवसको अवसरमा ८५ वर्षभन्दा माथिका १५२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । उपमहानगरपालिकाको आयोजनामा बिहीबार भएको कार्यक्रममा १९ वटै वडाबाट ज्येष्ठ नागरिकलाई सहभागी गराएर सम्मान गरिएको हो ।
नगर प्रमुख मिना कुमारी लामाले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्दै मह, टर्चलाइट, ब्याङ्केट, लौरो र योगा म्याट प्रदान गरेकी थिइन् । प्रत्येक वडाबाट ८ जना ज्येष्ठ नागरिकलाई छनोट गरी सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सम्मान कार्यक्रममा नगर प्रमुख लामाले ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनमा अनेकौँ संघर्ष र कठिनाइ पार गर्दै समाजलाई वर्तमान अवस्थासम्म डोहो¥याउन महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनीहरूको जीवन अनुभव, ज्ञान र योगदान नयाँ पुस्ताका लागि मार्गदर्शनको स्रोत भएको लामाको भनाइ थियो ।
लामाले ज्येष्ठ नागरिकहरूले परिवार र समाज निर्माणमा गरेको योगदानलाई राज्य र नयाँ पुस्ताले सम्मान गर्नुपर्ने बताइन् । जीवनका विभिन्न चरणमा भोगेका अनुभव र सिकाइलाई नयाँ पुस्ताले आत्मसात् गर्न सके समाजलाई थप व्यवस्थित र समृद्ध बनाउन सहयोग पुग्ने उनले उल्लेख गरिन् ।

ज्येष्ठ नागरिकले देखाएको मार्गदर्शन र बाटोमै आफूहरू अघि बढिरहेको बताउँदै नगर प्रमुख लामाले उनीहरूप्रति सधैँ सम्मानको भावना रहने बताइन् । ज्येष्ठ नागरिकको सम्मानलाई औपचारिक कार्यक्रममा मात्र सीमित नगरी उनीहरूको आवश्यकता, सुरक्षा र सामाजिक सहभागितालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक मञ्च नगर समन्वय समितिका अध्यक्ष रामबहादुर नेपालीको अध्यक्षता रहेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक, जनप्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीको सहभागिता थियो । हेटौंडा उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान र सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । ज्येष्ठ नागरिकको अनुभव र योगदानलाई सम्मान गर्दै उनीहरूलाई परिवार तथा समुदायमा सक्रिय रूपमा जोडिराख्न यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको नगरप्रमुख लामाको भनाइ छ ।


