चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हम
मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका चक्रघट्टाका १३ जनाको शव हेटौंडाबाट सर्लाही पठाइएको छ।
शोकमा डुबेका परिवारलाई घरसम्म पुग्न सहज होस् भनेर हेटौंडा उपमहानगरपालिकाले शव व्यवस्थापनदेखि आफन्तलाई घर पुर्याउनेसम्मको प्रबन्ध मिलाएको हो। हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामाको पहलमा तीन वटा शव वाहनको व्यवस्था गरी १३ जनाको शव सर्लाही पठाइएको छ।
उपमहानगरको आफ्नै शव वाहन, नारायणी यातायातको शव वाहन र अर्को एक शव वाहनको प्रबन्ध गरेर शवहरू सम्बन्धित परिवारसम्म पुर्याउने व्यवस्था मिलाइएको हो।

दुर्घटनामा आफन्त गुमाएका परिवारलाई शवसँगै घर फर्कनसमेत समस्या नहोस् भनेर मेयर लामाले आफू चढ्दै आएको बागमती प्रदेश ०३ ००१ झ ०१९० नम्बरको सवारीसमेत उपलब्ध गराएकी छन्। उक्त सवारीमा पीडित परिवारका आफन्तलाई सर्लाहीस्थित घरसम्म पुर्याउने व्यवस्था गरिएको छ।
पीडित परिवारलाई सान्त्वना दिन बिहीबारदेखि अस्पतालमा खटिएकी मेयर लामाले पोस्टमार्टमदेखि घर पु¥याउनेसम्मको काममा सहायता प्रदान गरेकी हुन्। बिहीबार राति हेटौंडामा रहेका पीडित परिवारका ३७ जनालाई खाना र आवासको समेत उपमहानगरले नै व्यवस्था गरेको थियो।
अकल्पनीय दुर्घटनाले एकैपटक ठूलो मानवीय क्षति बेहोरेका परिवारका लागि शव बुझेर घर फर्कनु नै अर्को कठिनाइ बनेको थियो। यस्तो अवस्थामा हेटौंडा उपमहानगरले गरेको यातायात व्यवस्थापनले शोकाकुल परिवारलाई केही सहजता दिएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले बताए।

दुखद् घडीमा हेटौंडा उपमहानगरदेखि प्रदेश सरकार र सरोकारवाला निकायको साथले सात्वना प्राप्त भएको उनले बताए।
आफन्तको शव बोकेर घर फर्कनुपरेको पीडालाई कम गर्न नसकिए पनि दुःखको घडीमा गरिएको यो सहयोग पीडित परिवारका लागि हेटौंडाको मानवीय साथ र मल्हम बनेको अध्यक्ष यादवको भनाइ छ।


