हिजो प्रश्न गर्नेहरू आज सरकारमा छन्, अब कामबाट जवाफ देऊ : अध्यक्ष मोक्तान

पालिका डायरी
२७ कार्तिक २०८३, १८:४९

हेटौँडा /  भीमफेदी–कुलेखानी सडकमा बढ्दो दुर्घटना र नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै हेटौँडा उपमहानगरपालिका–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले भीमफेदी–काठमाडौं सुरुङमार्ग निर्माणलाई पुनः प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्।

अध्यक्ष मोक्तानले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लामो समयदेखि चर्चामा रहेको सुरुङमार्ग निर्माण अलपत्र पर्नु, सडक दुर्घटना बढ्दै जानु र नागरिकको जीवन जोखिममा रहनु गम्भीर विषय भएको उल्लेख गर्दै सरकारलाई प्रश्न गरेका हुन्। उनले ‘कति जीवन गुमेपछि खुल्छ सुरुङमार्ग ?’ भन्ने प्रश्नमार्फत वर्षौंदेखि अधुरो रहेको आयोजनाप्रति राज्यको ध्यानाकर्षण गराएका छन्।

मोक्तानले भीमफेदी–कुलेखानी सडकको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उक्त सडकको सम्बन्ध कुलेखानी जलविद्युत् आयोजनासँग जोडिएको बताएका छन्। जलविद्युत् आयोजनाको पहुँच, निरीक्षण र सञ्चालन सहज बनाउन निर्माण गरिएको सडक पछि हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं जोड्ने छोटो वैकल्पिक मार्गका रूपमा विकास भएको उनको भनाइ छ।

तर दूरी घटाउने र यात्रालाई सहज बनाउने उद्देश्यले विकास गरिएको यही सडक अहिले धेरै परिवारको पीडा र आँसुको कारण बनिरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। साँघुरो सडक, घुम्ती नै घुम्ती, बढ्दो सवारी चाप, विद्युतीय सवारी चालकलाई पर्याप्त प्रशिक्षणको अभाव तथा सम्बन्धित निकायको कमजोर निगरानीले यात्रालाई जोखिमपूर्ण बनाएको उनले औँल्याएका छन्।

‘सडक विकासको प्रतीक हुनुपर्ने हो, अकालमै जीवन गुमाउने नियति होइन। बाटो छोटिनु विकास हो, तर त्यही बाटोमा जीवन छोटिनु दुःखद हो,’ मोक्तानको भनाइ छ।

उनले दीर्घकालीन समाधानका रूपमा अघि सारिएको भीमफेदी–काठमाडौं सुरुङमार्गप्रति नागरिकले ठूलो आशा र अपेक्षा राखेको भए पनि आयोजना वर्षौंदेखि अधुरै रहनु दुःखद भएको बताएका छन्। सुरुङमार्ग निर्माणका लागि सङ्कलित रकम कहाँ र कसरी उपयोग भयो, आयोजना किन अघि बढ्न सकेन र यससँग जोडिएका आर्थिक तथा प्रशासनिक विषयमा पारदर्शिता किन देखिएन भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्ने उनको माग छ।

विशेषगरी नयाँ नेतृत्वको सरकारलाई विगतका कमजोरी सच्याएर इतिहास बदल्ने अवसर रहेको उल्लेख गर्दै मोक्तानले अब दोषारोपण र राजनीतिक आरोप–प्रत्यारोपमा समय बिताउने छुट कसैलाई नभएको बताएका छन्।

‘हिजो तपाईंहरू प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो, आज जनताको मतबाट उत्तर दिने ठाउँमा पुग्नुभएको छ। त्यसैले अरूलाई दोष देखाएर होइन, आफ्नै कामबाट जवाफ दिनुहोस्,’ उनले सरकारलाई लक्षित गर्दै लेखेका छन्।

मोक्तानले विगतमा सुरुङमार्ग निर्माणसँग जोडिएका आर्थिक तथा प्रशासनिक विषयको निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न, आयोजनालाई पुनः गति दिन र नागरिकलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेका छन्।

उनको भनाइमा राजनीतिक परिवर्तनको सार कुर्सी फेरिनु मात्र नभई नागरिकको जीवनमा सकारात्मक परिवर्तन आउनु हो। विकासको मूल्याङ्कन सडकको लम्बाइ र बजेटको आकारबाट मात्र नभई त्यसले बचाएका जीवन र नागरिकको अनुहारमा ल्याएको मुस्कानबाट हुनुपर्ने उनको तर्क छ।

सडक दुर्घटनापछि श्रद्धाञ्जली व्यक्त गर्ने परम्परालाई निरन्तरता दिनुभन्दा दुर्घटना हुनै नदिने पूर्वाधार, प्रभावकारी नियमन र सुरक्षित यातायात प्रणाली निर्माणमा राज्य केन्द्रित हुनुपर्ने अध्यक्ष मोक्तानको जोड छ।

वर्षौंदेखि चर्चामा रहेको भीमफेदी–काठमाडौं सुरुङमार्गलाई राजनीतिक नारामा मात्र सीमित नराखी निर्माणको ठोस प्रक्रिया अघि बढाउनुपर्ने उनको मागले अहिले यस क्षेत्रको सडक सुरक्षा र विकासप्रति राज्यको जिम्मेवारीबारे पुनः बहस सिर्जना गरेको छ।

प्रतिक्रिया