भीमफेदी दुर्घटनाका पीडित परिवारलाई ‘यथाशीघ्र’ क्षतिपूर्ति दिन सरकारले अगाडि बढायो प्रक्रिया

पालिका डायरी
२७ कार्तिक २०८३, १३:५६

सरकारले भीमफेदी दुर्घटनाका पीडितलाई उपचार खर्च, क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार गराएको जानकारीअनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार भीमफेदी दुर्घटनाका घाइतेहरूको उपचार खर्च र मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो।

यस्तै दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखिएको पनि सरकारले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जना चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन्।

यसैगरी दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी पनि सरकारले गराएको छ।

प्रधानमन्त्री कार्यालयको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘सरकार दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रतिबद्ध छ। यस दुःखद घटनामा जीवन गुमाउनुहुने व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’

काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान भीमफेदी–कुलेखानी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानीगढीमा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा १४ जनाको मृत्यु भयो भने ६ जना घाइते भए।

छठ पर्व मनाउन घर जाने क्रममा दुर्घटनामा परी मृत्यु भएका यात्रुमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुरका र एकजना चालक सर्लाहीकै कविलासी नगरपालिकाका बासिन्दा थिए।

प्रतिक्रिया