भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
मकवानपुरमा भएको हाइस दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय, मकवानपुरले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले आजैदेखि काम सुरु गर्नेछ। समितिमा सहायक प्रजिअ, ट्राफिक प्रहरी इन्चार्ज, पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन्।
समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको प्रजिअ अधिकारीले बताए। भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
प्रारम्भिक जानकारीअनुसार, दुर्घटनामा परेको हाइस बिहीबार बिहान २ बजे काठमाडौंबाट छुटेको थियो। उक्त गाडी सवा ५ बजे देउराली पुगेको र पौने ६ बजे चिसापानीमा दुर्घटनामा परेको देखिएको प्रजिअ अधिकारीले जानकारी दिए।
उनका अनुसार पछिल्लो १३ महिनामा यस सडकखण्डमा तीन वटा ठूला तथा अन्य साना दुर्घटना भइसकेका छन्। दुर्घटनाको जोखिम न्यूनीकरणका लागि यस सडकखण्डमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, रुट परमिटको अवस्था, चालकको लापरबाही, सवारी चलाउँदा मोबाइल प्रयोग गर्ने प्रवृत्ति, सडक पूर्वाधार, सडक संकेत तथा यात्रुको सचेतनालगायत विषयमा गम्भीर समीक्षा गर्नुपर्ने देखिएको उनले बताए।

