रसुवा पुग्ने वैकल्पिक सडक बनाउन मुख्यमन्त्री मगर फिल्डमा

पालिका डायरी
१५ भाद्र २०८३, १३:४३
रसुवा पुग्ने वैकल्पिक सडक बनाउन मुख्यमन्त्री मगर फिल्डमा

रसुवा पुग्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर आफैँ फिल्डमा खटिएका छन्।

सोमबार बिहानैदेखि चोगटे-सरमथली-जीरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडकमा देखिएका समस्या पहिचान तथा समाधान गर्दै निर्माणको कामलाई निरन्तरता दिन मुख्यमन्त्री मगर फिल्डमै पुगेका हुन्।

बिहानदेखि नै सडक निर्माणस्थलमा खटिएका मुख्यमन्त्री मगरले सडकलाई फराकिलो र आवतजावतका लागि सहज बनाउने कामको अनुगमन गरिरहेका छन्। सडक निर्माणका क्रममा देखिएका अवरोध तत्काल समाधान गर्दै कामलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायलाई समेत निर्देशन दिइएको मुख्यमन्त्री मगरले बताए ।

रसुवामा बाढीपछि मुख्य सडक तथा यातायात पूर्वाधारमा क्षति पुगेका कारण वैकल्पिक मार्गलाई तत्काल सञ्चालनयोग्य बनाउने प्रदेश सरकारको प्राथमिकतामा राखेको मुख्यमन्त्री मगरले बताए। राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार र नागरिकको आवतजावत सहज बनाउन सडक स्तरोन्नतिको काम अघि बढाइएको उनको भनाई छ।मुख्यमन्त्री मगरले नागरिकलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न आफू फिल्डमै खटिएर कामको अवस्था बुझिरहेको बताएका छन्।

‘जनताको सहज यात्रा र सुरक्षित भविष्यका लागि काम निरन्तर जारी छ,’ मुख्यमन्त्री थापाले भने, ‘सडक निर्माणमा देखिएका समस्या समाधान गर्दै कामलाई गति दिइरहेका छौँ। सडक सुचारु गर्न सकियो भने उद्दार, राहत वितरणम सहज हुन्छ भन्ने अपेक्षा छ।’

प्रतिक्रिया