‘अति वर्षा’को पूर्वानुमानपछि कुलेखानी ड्यामको अनुगमन

पालिका डायरी
७ आश्विन २०८३, २१:०५

जल तथा मौसम विज्ञान विभागले असोज ८ गतेदेखि ११ गतेसम्म देशका धेरै भू–भागमा अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि मकवानपुरमा सम्भावित जोखिम न्यूनीकरणका लागि अनुगमन थालिएको छ।

पूर्वानुमानलाई मध्यनजर गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले इन्द्रसरोवर गाउँपालिका–१ र २ मा पर्ने कुलेखानी जलाशायको अनुगमन गरेका छन्।

बुधबार (आज) प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी लगायतको टोलीले कुलेखानी जलाशय (ड्याम) को स्थलगत अनुगमन गरेको हो।

अनुगमनका क्रममा जलाशयमा पानीको अवस्था, ड्यामको सुरक्षा तथा अत्यधिक वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबारे जानकारी लिइएको छ। साथै, वर्षाका कारण जलाशयमा पानीको सतह बढेमा अपनाउनुपर्ने सावधानी तथा आवश्यक पूर्वतयारीबारे समेत छलफल गरिएको सीडीयो अधिकारीले बताए।

उनका अनुसार अहिले कुलेखानी जलाशायको पानीको सतह १५ सय २२ मिटर छ। १५ सय ३० मिटर सतह क्षमता रहेको जलाशायमा १५ सय २७ मिटर पुगेपछि पानी बाहिर पठाउने प्रक्रिया सुरु गर्ने विषयमा छलफल गरिएको हो। २०८१ साल असोज दोस्रो साता भारी वर्षा हुँदा कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो। बाँध नै खोल्नुपर्ने स्थिति आएको थियो।

कुलेखानी जलाशयको पानीले इन्द्रसरोवर–३ स्थित सिस्नेरीबजारदेखि टेकरसम्मकै संरचनामा क्षति गरेको थियो। सोही जोखिमलाई ध्यानमा राखेर सावधानी तथा आवश्यक पूर्वतयारी थालिएको सीडीयो अधिकारी बताउँछन्।

६० मेगावाट क्षमताको कुलेखानी प्रथम जलविद्युत् आयोजनाले पछिल्लो आवश्यकताका अधारमा विद्युत् उत्पादन गरिरहेको छ। कुलेखानी नेपालको एक मात्र जलाशययुक्त आयोजना हो। ३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइ छ।

जलाशय भरिँदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ। मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, वज्रबाराही र चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेल कुलेखानी जलाशयका जलाधार क्षेत्र हुन् ।

प्रतिक्रिया