महाधिवेशन प्रतिनिधिमा मकवानपुर–२ बाट रायमाझी र क्षेत्र नं. १ बाट गौतमको उम्मेदवारी

राम कुमार दानी
७ आश्विन २०८३, २०:४६

हेटौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा मकवानपुरबाट युवा नेताहरूको उम्मेदवारी अघि बढ्ने भएको छ। नेपाल तरुण दलका जिल्ला उपसभापति भइसकेका रामकुमार रायमाझी ‘हारा’ले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. २ बाट तथा सुमन गौतमले क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने निश्चित भएको बताइएको छ।

पार्टीको संगठन निर्माणदेखि भ्रातृ संगठनको नेतृत्वसम्म सक्रिय भूमिका निर्वाह गरेका रायमाझीको उम्मेदवारीलाई कांग्रेसको मूल राजनीतिमा युवा पुस्ताको पुनरागमनका रूपमा हेरिएको छ। तरुण दलको जिल्ला उपसभापतिको जिम्मेवारी सम्हालिसकेका रायमाझी यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको नीति, नेतृत्व र संगठन निर्माणमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने तयारीमा छन्।

त्यस्तै, क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्न लागेका सुमन गौतम पनि युवा पुस्ताको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिने भएका छन्।

कांग्रेसभित्र अहिले पुरानो पुस्ताको निरन्तरता कि नयाँ पुस्ताको हस्तक्षेप भन्ने बहस चलिरहेका बेला मकवानपुरबाट रायमाझी र गौतमको उम्मेदवारीले महाधिवेशन प्रतिनिधि चयनलाई थप रोचक बनाउने देखिएको छ।

महाधिवेशन प्रतिनिधि केवल महाधिवेशनमा सहभागी हुने प्रतिनिधि मात्र नभई पार्टीको नीति, नेतृत्व चयन र भावी राजनीतिक दिशामा समेत भूमिका खेल्ने भएकाले युवा नेताहरूको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

मकवानपुर कांग्रेसमा अब बहस एउटै छ—महाधिवेशन प्रतिनिधिमा पुरानै अनुहारको निरन्तरता कि संगठनभित्र नयाँ पुस्ताको बलियो उपस्थिति?

प्रतिक्रिया