बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ मा विश्वासको मत लिने

पालिका डायरी
२९ श्रावण २०८३, १२:५२
बानियाँको ब्रिफिङ: बागमतीमा फेरि कांग्रेसै सरकार बन्ने देखियो

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले भदौ १ गते दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका हुन्। एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको हो।

त्यसपछि विश्वासको मत लिने तयारी गरेका बानियाँले प्रदेश सभा सचिवालयलाई पत्राचार गरेसँगै भदौ १ गतेको बैठक तय भएको हो। १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

हाल कांग्रेससँग आफ्नै ३६ र हानेपाको दुई गरी ३८ मत मत मात्रै छ। त्यसैले मुख्यमन्त्री बानियाँलाई सरकार जोगाउन थप १५ सांसदको समर्थन आवश्यक पर्नेछ। जसका लागि राप्रपाको १२ र नेमकिपाको ३ सिटको समर्थन प्राप्त गर्ने कसरतमा छन्।

राप्रपाले भने प्रदेश सरकार गठनको अंकगणितमा सहभागी नहुने संकेत गर्दै आएको छ। यस्तो अवस्थामा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत जुटाउन थप चुनौती देखिएको छ।

प्रतिक्रिया