१५ वर्ष कैद र ५ लाख जरिवाना भएका फरार थाहा नगरका लो पक्राउ
AI Photo
जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका लागूऔषध (अफिम) मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको साविक टिष्टुङ गाविस–३, हाल थाहा नगरपालिका–११, ठूलोठाडे बस्ने ६० वर्षीय मेक्सो लो रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले साउन २७ गते साँझ करिब ५ः२३ बजे पक्राउ गरेको हो।
प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौंले मेक्सो लोलाई २०७७ साल माघ १८ गते ३ किलोग्राम लागूऔषध (अफिम) सहित पक्राउ गरेको थियो। उक्त मुद्दामा उनलाई १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो।
जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका लो लामो समयपछि मकवानपुरमा पक्राउ परेका हुन्। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

