नेतृत्व संकटबीच थपलियाको दाबी- जिम्मेवारीबाट पछि हट्दिनँ

पालिका डायरी
२८ श्रावण २०८३, १७:२१
एमाले संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव

नेकपा एमाले बागमती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भई नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढिरहेका बेला थपलियाले स्वास्थ्य लाभपछि पार्टीको जिम्मेवारीमा अझ सक्रिय भएर फर्किने बताएका छन्।

स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिँदै बिहीबार विज्ञप्ति जारी गरेका थपलियाले स्वास्थ्य लाभपछि एमाले बागमतीलाई सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउने बताएका हुन्। ‘स्वास्थ्य लाभपछि अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई बागमती प्रदेशमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउँदै राष्ट्रियस्तरमा पार्टीको भूमिका अझ बलियो बनाउन आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित रहनेछु,’ थपलियाले विज्ञप्तिमा भनेका छन्।

आफ्नो स्वास्थ्य अवस्थासँग जोडेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका अपूर्ण, गलत वा अतिरञ्जित सूचनाका आधारमा कुनै निष्कर्षमा नपुग्न पनि उनले आग्रह गरेका छन्। उनले तत्काल राजनीतिक गतिविधिबाट स्वास्थ्यका कारण केही समय टाढा रहने भए पनि एमाले बागमतीको नेतृत्व विवादबाट आफू राजनीतिक रूपमा पछि नहट्ने र स्वास्थ्य लाभपछि पुनः सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका हुन्।

यस्तै साउन १८ गते बागमती प्रदेशको समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलमा सहभागी भइरहेका बेला अचानक रक्तचाप र मधुमेहमा असन्तुलन देखिएपछि स्वास्थ्यमा गम्भीर जटिलता उत्पन्न भएको थपलियाले बताएका छन्।

चिकित्सकको सल्लाहअनुसार थप परीक्षण र उपचारका लागि आफू करिब आठ दिन वीर अस्पतालमा भर्ना भएर उपचाररत रहेको उनले जानकारी दिएका छन्। आफ्नो स्वास्थ्य अवस्थासँग जोडेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका अपूर्ण, गलत वा अतिरञ्जित सूचनाका आधारमा कुनै निष्कर्षमा नपुग्न पनि उनले आग्रह गरेका छन्।

बुधबार १६ सांसदको हस्ताक्षर सहित उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। ९ सांसद भने थपलियाको पक्षमा देखिएका छन्।

प्रतिक्रिया