सामूहिक बलात्कार मुद्दामा १० वर्षपछि पीडितलाई न्याय

पालिका डायरी
२८ श्रावण २०८३, १८:१९
ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

सर्वोच्च अदालतले १० वर्षअघि सामूहिक बलात्कार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ । मोरङको कटहरीमा भएको सामूहिक बलात्कार घटनामा जिल्ला र उच्च अदालतले आरोपितलाई सफाइ दिएको फैसला सर्वोच्चले उल्टाएको हो ।

‘विराटनगर ठ’ (परिवर्तित नाम) १० माघ २०७३ मा कटहरीस्थित टहरामा बलात्कृत भएकी थिइन् । प्रहरी अनुसन्धानमा उनले विराटनगर पुर्‍याइदिने आश्वासन दिएर मोटरसाइकलमा लगेका युवाले कटहरीको पोखरीछेउको टहरामा पुर्‍याई पालैपालो जबर्जस्ती करणी गरेको बताएकी थिइन् । प्रहरीले पीडितलाई बेहोस अवस्थामा फेला पारेको थियो । घटनास्थलमा चाउचाउ, पानीको बोतल र चुरोट फेला परेको र त्यसैका आधारमा अनुसन्धान गरी केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख थियो ।

तर पछि अदालतमा उनलाई बयान फेर्न धम्की दिइएको थियो । बयान नफेरे ज्यान मार्ने धम्की दिइएका कारण उनले आफूले प्रेमीलाई बोलाएको, सहमतिमै करणी भएको तथा अन्य व्यक्तिसँग आफ्नो चिनजान नभएको बयान अदालतमा दिएकी थिइन् । त्यही कारण आरोपितहरूले जिल्ला र उच्च अदालतबाट सफाइ पाएका थिए ।

सर्वोच्चले भने पीडितको अवस्था र घटनास्थलका सबै परिस्थिति हेरेर मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको फैसला उल्टाएको उक्त मुद्दामा बहस गरेका सरकारी वकिलले बताए । ‘सामूहिक बलात्कारका यस्ता घटनामा जहाँ पीडित र पीडक नजिकै हुन्छन्, साँचो बयान पीडितबाट आउँदैन । यसमा अदालतले घटनाका सबै पक्ष हेरेर न्याय निरूपण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर विराटनगर ठको हकमा जिल्ला र उच्च अदालतबाट त्यसो हुन सकेन । त्यसैले सर्वोच्चले फैसला उल्टाएको हो ।’

प्रतिक्रिया