भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ
सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले सँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ।
जिल्लाको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा गोली चल्दा कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो।
प्रहरीका अनुसार पुन मगर साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वनमा गएका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेर पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा लागेको थियो। गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कालिमाटी, सल्यानबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनापछि प्रहरीले पुन मगरसँगै शिकार खेल्न गएका ६ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर रहेका छन्।
घटनामा प्रयोग भएको भरुवा बन्दुक र गोली चलेको परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको वास्तविक कारण तथा गोली कसरी चलेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

