मुख्यमन्त्री बानियाँले भदौ ३ गते भित्र विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गते भित्र संसदबाट विश्वासको मत लिने भएका छन् । शनिबार काठमाडौंमा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत आगामी भदौ ३ गते भित्र लिने निर्णय गरेको हो ।
गत साउन ६ गतेबाट अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ ४ गते भित्र संसदबाट विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । सत्ता साझेदार दल एमालेले सरकारको समर्थन फिर्ता लिएसंगै अल्पमतमा रहेका उनलाई सरकार टिकाउन अन्य साना दलहरुको समर्थन आवश्यक रहेको छ ।
सत्ता साझेदार दल एमालेले कांग्रेससंगको गठबन्धन तोड्दै नेकपासंग मिलेर नयाँ सरकार बनाउन साझेदारी गरेको छ । उक्त अवस्थाका बिच कांग्रेस साना दलको समर्थनमा सरकार टिकाउने रणनीतिमा रहेको छ भने एमाले र नेकपाको सरकार गठनको अवस्था पनि अन्योल बनेको छ ।
सो परिस्थितिका बिच मुख्यमन्त्री बानियाँले ३ गते भित्र विश्वासको मत लिने संसदीय दलले निर्णय गरेको हो । बैठकले विश्वासको मत लिनु एकदिन अगाडि नै हेटौंडामा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरेको कांग्रेस संसदीय दलका सचीव मीनकृष्ण महर्जनले जानकारी दिए ।
बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत बारे पार्टी सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शिर्ष तहका नेताहरुसंग छलफल गर्ने निर्णय गरेको उनको भनाई छ । बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत पुर्याउन शिर्ष नेतृत्व सहित अन्य दलका नेतृत्वसंग समन्वय तथा छलफल गर्ने निर्णय गरेको सचिव महर्जनले बताए ।

