हेटौँडामा ‘शून्य फोहोर’ अभियानअन्तर्गत बृहत् सरसफाइ (तस्बिरहरु)

पालिका डायरी
२३ श्रावण २०८३, १४:१७

हेटौँडामा ‘शून्य फोहोर’ अभियानअन्तर्गत बृहत् सरसफाइ अभियान सुरु गरिएको छ। हेटौंडा उपमहानगरपालिकाले पर्यटन वर्ष–२०८३ मनाउने लक्ष्य सहित ‘शून्य फोहोर’ अभियान सञ्चालन गरेको हो। शनिबार (आज) टोल विकास संस्था नगर समन्वय समितिको संयोजनमा नगरका विभिन्न क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको हो।

अभियानको सुरुवात हेटौंडा उपमहानगरपालिका–९ र ११ मा गरिएको छ। सरसफाइ कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामा सहित अन्य जनप्रतिनिधि, सुरक्षा निकाय, टोल विकास संस्था, सामाजिक संघसंस्था तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

पर्यटन वर्षका क्रममा हेटौंडालाई स्वच्छ, सफा र आकर्षक पर्यटकीय शहरका रूपमा स्थापित गर्ने उद्देश्यले अभियानलाई नगरका विभिन्न टोलसम्म विस्तार गरिने जनाइएको छ। अभियानमा टोलस्तरबाटै फोहोर व्यवस्थापन, वातावरण संरक्षण तथा सरसफाइप्रति नागरिकलाई जिम्मेवार बनाउने विषयलाई प्राथमिकता दिइएको छ।

हेटौँडाकी नगर प्रमुख मीना कुमारी लामाले पर्यटन वर्ष २०८३ सफल बनाउन हेटौंडाको स्वच्छता र सौन्दर्य महत्वपूर्ण रहेको बताइन्। हेटौंडालाई स्वच्छ र सुन्दर शहर बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्। सरसफाइलाई एकदिने अभियानमा सीमित नगरी नागरिकको दैनिक जीवन र व्यवहारसँग जोडेर निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले ‘शून्य फोहोर हेटौंडा’ अभियानलाई नगरका सबै टोलसम्म पु¥याइने बताए। उनका अनुसार ३६६ वटै टोल विकास संस्थामा अभियान सुरु भएको छ। सुरुवाती दिनदेखि नै विभिन्न टोल विकास संस्थाले आ–आफ्नो कार्यक्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन्। अभियानलाई निरन्तरता दिँदै हेटौंडाका टोल–टोलमा फोहोर व्यवस्थापन, वातावरण संरक्षण र स्वच्छतासम्बन्धी सचेतना फैलाउने बताइएको छ।

सरसफाइ कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली, हेटौँडा–३ अध्यक्ष ढलकबहादुर थापा, हेटौँडा–९ का अध्यक्ष सुकराम केसी, हेटौँडा– ११ की अध्यक्ष जुना दाहाल लगायत जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो।

 

प्रतिक्रिया