बीएड–इन्टर पास जुम्लेली जोडीको हेटौंडामा जडीबुटीकाे व्यापार

पालिका डायरी
१३ फाल्गुन २०८०, १३:३४
बीएड–इन्टर पास जुम्लेली जोडीको हेटौंडामा जडीबुटी व्यापार

एउटा हातमा जिम्बु, टिमुर, शिलाजित, जेठीमधुलगायत जडीबुटी, अर्को हातमा पञ्चधातुको औँठीको एउटा सानो डब्बा, सोही डब्बासँगै मुस्किलले समातिएका विभिन्न प्रकारका माला र पोतेका झुत्ता। ढाडमा कालोमैलो झोला। यो हो- हेटाैँडा बजारमा भेटिएको एक जुम्लेली जोडीको हुलिया।

जुम्लाको सिजा गाउँपालिका-६ काँडागाउँका राजबहादुर बुढा र उनकी श्रीमती रामुदेवी बुढा दिनभर धुलो र धुवाँ खाँदै त्यही झोला र जडीबुटीमा भविष्य खोजिरहेका छन्। राजबहादुरको उमेर ३१ वर्ष हो भने रामुदेवी २६ वर्ष पुगिन्।

राजबहादुर हेटाैँडा र आसपासका सहर तथा टोलटोल घुम्दै घाँटी सुक्ने गरी कराउँछन्- ‘लौ आयो हजुर शिलाजित, जेठीमधु, टिम्बुर। पञ्चधातुबाट बनेको औँठी, पोते माला…!’ अनि उनलाई सघाइरहेकी छन्- रामुदेवी।

साथमा बीएडको सर्टिफिकेट
राजबहादुर बुढाले २०६९ सालमै बाँकेको कोहलपुरस्थित डाइनामिक मल्टिपल कलेजबाट बीएडसम्मको पढाइ पूरा गरेका छन्। त्यसपछि जुम्लामै रहेको सरकरी विद्यालयमा झन्डै ४ वर्ष शिक्षक बने। गाउँमा उतिबेला यत्ति पढेका शिक्षक कमै हुन्थे। त्यसैले पनि उनको सान ठूलै थियो।

‘त्यो बेलामा टिचर बनेर गाम जाँदाको खुसीको त कुरै नगरम न’, मुसुक्क हाँस्दै उनले सुनाए, ‘पढेलेखेको केटो भनेर गामभरि चर्चा हुन्थ्यो। राजबहादुर मास्टर साब भनेर गाउँकै दाइहरूले बोलाउँदा कम्ता रमाइलो मान्थेम र!’

तर शिक्षक बनेर गाउँमै बस्ने उनको रहर बिस्तारै सेलाउँदै गयो। कारण थियो- गाउँभरिका दाइ, काकाहरू व्यापार गर्न सहर झर्ने चलन। त्यही लहडले उनलाई पनि छोयो। अनि बीएडको सर्टिफिकेट घरको दराजमै थन्क्याएर बने- जडीबुटी व्यापारी। उनलाई जडीबुटीका माला हातभरि झुन्ड्याउँदै सहर डुल्न रमाइलो लाग्न थाल्यो।

यसपछि बीएडको सर्टिफिकेट साथमा भए पनि जागिर खाऊँ अथवा फेरि शिक्षण पेसालाई नै अगाडि बढाऔँ भन्ने कहिल्यै नलागेको उनी बताउँछन्।

रामुदेवीसँग २०७३ सालमा विवाह भएपछि दुवैले जुम्ला छाडे। केही वर्ष काठमाडौँ र केही वर्ष नुवाकोटको बसाइपछि पछिल्लो ५ वर्षदेखि मकवानपुरको हेटाैँडालाई कर्मथलो बनाएर पौरख गरिरहेका छन्।

पढेलेखेको मान्छे जागिर खाऊँजस्तो लाग्दैन ? याे जिज्ञासामा राजबहादुर भन्छन्, ‘आफ्नै व्यवसाय गरे पो मनमा शान्ति हुन्छ। अर्काको जागिर खायो भने त सधैँ डर नै डर हुन्छ। भनेका बेला तलब मिल्दैन। साहुले ठूलो स्वरले बोले भने जुम्लिया हुम् मलाई झन् रिस उठ्ला भन्ने लाउँछ।’

हातमा आफैँले लेखेको गजल किताब
राजबहादुरले जडीबुटीसँगै आफैँले लेखेको गजल किताब पनि बेच्ने गरेका छन्। आफैँले लेखेको सयभन्दा बढी गजल समावेश ‘सांसरिक गजल’ संग्रहसमेत बिक्री गर्ने गरेको उनी बताउँछन्।

‘यो सबै गजलहरू म आफैँले लेखेको हुँ’, उनले थपे, ‘मलाई गजल लेख्न पहिल्यैबाट मन लाग्थ्यो। उतिबेला इन्टर पढ्दादेखि नै लेखेका गजलहरूको संग्रह निकालेको हुँ। किताब भने फाइदाका लागि नभएर छापेको रकम उठाउन मात्रै भए पनि बेच्ने गरेको हुँ।’

साहित्यमा रुचि राख्ने उनी भविष्यमा लोक गायक बन्ने रहर रहेको बताउँछन्। ‘मान्छेहरूलाई विदेश जाम्ला, धेरै पैसा कमाम्ला भन्ने सोच हुन्छ। तर मलाई नेपालमै बसेर जीवन धानम्ला भन्ने मात्रै लाग्छ। अहिले व्यापार गरेर अलिअलि जोगाउने अनि पैसा जम्मा भएपछि एउटा लोकगीत निकाल्ने ठूलो इच्छा छ’, उनले भने।

लोकसेवाको तयारीमा रामुदेवी
राजबहादुरलाई जागिर खाने रहरै नभए पनि उनकी पत्नी रामुदेवी भने सरकारी जागिर खाने प्रयासमा छिन्। बिहान सबेरै उठेर नित्यकर्म सकाएपछि उनी खाना बनाउँछिन् र ६ वर्षीय छोरोलाई स्कुल पठाउने तयारीमा लाग्छिन्। छोरालाई स्कुल पठाएपछि श्रीमान् राजबहादुरसँगै भातको गाँस टिपेर डेराबाट लाग्छिन्- हेटाैँडा बजार।

‘भरे ४ बजे त छोरा स्कुलबाट फर्किन्छ। त्यसलाई डेरा लानुपर्‍यो’, रामुदेवीले भनिन्, ‘त्यो बेलासम्म २/४ सयको व्यापार गर्न भ्याम्छु कि भन्ने आश छ।’

दिनभर श्रीमान्‌सँगै जडीबुटी बिक्रीमा खट्ने उनी अपराह्न ४ बजेपछि छोरालाई डेरामा पुर्‍याउने र घरधन्दामा लाग्छिन्। बेलुका ७/८ बजेसम्ममा घरायसी सबै काम सकेपछि उनको आफ्नै महत्त्वपूर्ण काम सुरु हुन्छ। त्यो हो- लोकसेवा तयारी।

२०७१ सालमा कक्षा १२ पास गरेकी रामुदेवीले त्यसपछि सुर्खेत झरेर अमिन पढिन्। यहीबीच उनको विवाह भयो। केही वर्षपछि छोरो जन्मियो। तर उनलाई अझै सेतो सर्ट र नीलो पाइन्ट लगाएर सरकारी अमिन बन्ने रहर छ। सोही रहर पूरा गर्न उनी दिनभर जडीबुटी बेच्ने तथा घरधन्दाको काम सकेपछि आधा रातसम्म लोकसेवाका पुस्तक पढ्छिन्।

‘मनमा सरकारी जागिर खाम्ला भन्ने ठूलो रहर छ। त्यसैले पनि होला- पढिरहँदा समय कटेको थाहै हुँदैन’, सँगै बसेका राजबहादुरको मुखमा हेरेर हाँस्दै उनले भनिन्, ‘उहाँलाई जति जागिर खानु भने पनि मान्नुहुन्न। मलाई भने पढेकै विषयमा जागिर खान रहर छ।’

कतै जागिर खोज्नु भएको छैन ? भन्ने प्रश्नमा उनले लजाएको भावमा भनिन्, ‘नयाँ ठाउँ, नयाँ सहर, कहाँ गएर जागिर खोज्नु भन्ने लाउँछ। हेर्दा पढेलेखेजस्तो देखिन्नम्, त्यही भएर पनि होला कसैले सोधेका पनि छैनन्। हामी जागिर खोज्न भनेर निस्किएका पनि छैनम्।’

दिनभर पनि लोक सेवाका बुँदामा ध्यान
दिनभर व्यापार गरिरहँदा पनि रामुदेवीको मानसपटलमा अघिल्ला दिन पढेका पुस्तकका बुँदा घुमिरहन्छ। भन्छिन्, ‘बिर्सें भने खत्तम हुन्छजस्तो लाउँछ। ग्राहक नभेटिएका बेला बेलुका पढेका कुराहरू सम्झिने कोसिस गर्छु।’

अन्य काम सकेर कुन बेला लोकसेवा तयारीका किताब लिएर बसौँजस्तै हुने उनी बताउँछिन्। गण्डकी प्रदेश लोक सेवा आयोगले केही दिनअघि अमिन पदका लागि पनि विज्ञापन खुलाएको छ। सोही पदमा आवेदन दिएकी रामुदेवीलाई घरमै बसेर दिनभरि पढ्न पाए सकिन्थ्यो कि भन्ने लाग्छ।

तर घरखर्चका लागि पनि दिनभर भने व्यापार गर्नेपर्ने बाध्यता रहेको उनी बताउँछिन्। लोक सेवाको तयारी कक्षा पनि सञ्चालन भइरहेका हुन्छन्, ट्यिुसन पढ्न मन लागेको छैन?

मलिन स्वरमा रामुदेवी भन्छिन्, ‘लाग्न त लाउँछ नि, के गर्नु! बाबु पनि पढाउनु छ। कोठाभाडा, खान सबै खर्चैखर्च छ। पढ्न पैसा लाउँछ। घरमै पढेर भए पनि एकपटक पास हुम्ला कि भन्नेआश छ।’

 

नेपालखबरका लागि सुनिता विष्ट ले लेख्नु भएको सामाग्री हामीले साभार गरेका हौँ ।

प्रतिक्रिया