जिसस मकवानपुरको नवौं जिल्ला सभा सम्पन्न
जिल्ला समन्वय समिति मकवानपुरको नवौं जिल्ला सभा सोमबार सम्पन्न भएको छ ।
सभाले जिसस मकवानपुरको आयव्यय विवरणसहित बजेट पारित गरिएको छ । सभाले जिसस मकवानपुरले गर्ने कार्यक्रमहरुको अख्तियारी प्रदान गर्ने, पछिल्लो समय जाजरकोट र रुकुममा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउन पुगेकाहरुप्रति श्रद्दाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ ।
यस्तै, भूकम्पबाट पीडित परिवारहरुकालागि मकवानपुरका सबै पालिकाहरुबाट जिससको समन्वयमा राहत संकलन गरि सहयोग गरिने निर्णय भएको छ । ढुंगा गिट्टी, बालुवाको निकासी सम्बन्धमा नीतिगत व्यवस्थाका लागि यथाशक्य छिटो व्यवस्थापन सम्बन्धमा अनुरोध गर्ने निर्णय सभाले गरेको छ । यसैगरि, लागु औषध गाँजाको वैकल्पिक व्यवस्थाका लागि प्रदेश र संघमा आवश्यक बजेट व्यवस्थापनका नीम्ति माग गर्ने निर्णय भएको जिसस मकवानपुरका प्रमुख ललित घलानले जानकारी दिएका छन् ।
सभाको उद्घाटन सत्रमा प्रमुख अतिथी समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी सार्ने र नाम परिवर्तन गर्ने कुरा आफूले नगरेको उल्लेख गरेका छन् । केही समयअघि काठमाडौंमा आयोजित कार्यक्रममा प्रदेशको नाम र राजधानी पायक नभएको भन्ने कार्यक्रमका सहभागीहरुको भनाइलाई स्वभाविक भएको धारणा राखेको मुख्यमन्त्री जम्कट्टेलले बताएका छन् । उनले प्रदेशको नाम र राजधानी बनिसकेको र यसमा दायाँबायाँ नहुने स्पष्ट समेत पारेका छन् ।
सभामा संघिय सांसद महेश बर्तौला, बिन्दाबासिनी कंशकार, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमति प्रदेश सांसद प्रेमबहादुर पुलामी ९छिन्तु०, लगायत पालिकाका प्रमुख एवम् उपप्रमुखहरुको उपस्थिति थियो ।