माओवादी केन्द्रीय सदस्यले लिए शपथ

पालिका डायरी
१९ पुष २०७८, १९:३६
माओवादी केन्द्रीय सदस्यले लिए शपथ

नेकपा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन् । ललितपुरको सानेपा हाइटमा रहेकाे हेरिटेज गार्डेनमा आज साेमवार आयोजित केन्द्रीय समितिको बैठकअघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।

नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराउनुभयो । यही पुस ११ गतेदेखि सुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले हिजाे आइतवार खुलातर्फ एक सय ११ र समावेशीतर्फ एक सय २५ गरी दुई सय ३६ केन्द्रीय सदस्य चयन गरेको थियो ।

माओवादीको विधानले केन्द्रीय समिति दुई सय ९९ सदस्यीय बनाउने व्यवस्था गरेको छ । १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ ।

शपथपछि केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

प्रतिक्रिया