एनपीएलमा सर्वाधिक विकेट लिएका रिजनलाई हेटौँडामा १ लाख नगदसहित सम्मान

पालिका डायरी
७ मंसिर २०८३, ११:४७

हेटौँडा उपमहानगरपालिकाले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका मकवानपुरका युवा क्रिकेट खेलाडी रिजन ढकाललाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ।

चितवन राइनोजबाट प्रतियोगितामा सहभागी ढकाल १७ विकेट लिँदै प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बन्न सफल भएका थिए। त्यसको कदर गर्दै हेटौँडा उपमहानगरपालिकाले सोमबार (आज) आफ्नो कार्यालयमा समारोह आयोजना गरी ढकाललाई सम्मानपत्रसहित एक लाख रुपैयाँ नगद प्रदान गरेको हो।

ढकालले एनपीएलका ८ खेलमा १७ विकेट लिँदै प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीका रूपमा गोल्डेन क्याप जिते। साथै उनी एनपीएल सिजन-३ का उत्कृष्ट नेपाली खेलाडी र उत्कृष्ट बलरसमेत घोषित भए।

उत्कृष्ट खेलाडी भएबापत उनले ओमोडा एन्ड जेको कार प्राप्त गरे भने उत्कृष्ट बलरतर्फ पल्सर मोटरसाइकल जितेका छन्। प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेका ढकालले आफ्नो खेल कौशलमार्फत मकवानपुरलाई राष्ट्रिय क्रिकेट क्षेत्रमा चिनाउन योगदान पुर्‍याएका छन्।

स्थानीयस्तरमा रहेका खेल प्रतिभाको पहिचान, प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले उनलाई पुरस्कार दिइएको उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्य तथा कर्मचारीहरूको उपस्थितिमा ढकाललाई सम्मान गरिएको हो।

उपमहानगरपालिकाले ढकालको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी खेल जीवनमा थप प्रगतिको कामनासमेत गरेको छ।

प्रतिक्रिया