अवसरका लागि कित्ता बदल्नेहरूलाई सुनिल मोक्तानको सन्देश : हुरीसँगै उड्ने पात होइन आँधीसँग जुध्ने सत्तिसाल बनौँ

पालिका डायरी
६ मंसिर २०८३, १०:०९

नेकपा एमाले मकवानपुरका युवा नेता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष सुनिल मोक्तानले राजनीतिक अवसरवाद, व्यक्तिगत स्वार्थ र बदलिँदो राजनीतिक कित्ताप्रति लक्षित गर्दै विचार, सिद्धान्त र निष्ठामा अडिग रहन आग्रह गरेका छन्।

मोक्तानले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राजनीतिक यात्रामा आउने उतारचढावसँगै विचार र सिद्धान्त परिवर्तन गर्न नहुने बताएका हुन्। उनले ‘हुरीसँगै उड्ने पात होइन, आँधीसँग जुध्ने सत्तिसाल बनौँ’ भन्ने सन्देशमार्फत राजनीतिक प्रतिबद्धता र संगठनप्रतिको निष्ठाको विषय उठाएका छन्।

उनले राजनीतिमा कहिले अनुकूल परिस्थिति आउने र कहिले कठिन संघर्षको सामना गर्नुपर्ने उल्लेख गर्दै समय र परिस्थिति बदलिँदैमा आफ्नो राजनीतिक विचार, सिद्धान्त, निष्ठा र धरातल बदल्न नहुने धारणा राखेका छन्।

मोक्तानले सहज अवस्थामा विचार र सिद्धान्तको कुरा गर्नेहरू धेरै भए पनि कठिन समय आउँदा वास्तविक प्रतिबद्धता र निष्ठाको पहिचान हुने बताएका छन्। उनका अनुसार राजनीति केवल सत्ता, पद र प्रतिष्ठा प्राप्त गर्ने माध्यम नभई विचार, विश्वास, मूल्य–मान्यता र सामूहिक भविष्य निर्माण गर्ने जिम्मेवारी हो।
उनले पार्टीभित्र असहमति, नेतृत्वप्रति असन्तुष्टि र निर्णयप्रति विमति हुनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसको समाधान छलफल, बहस र आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने बताएका छन्। असन्तुष्टिको नाममा विचार र संगठनप्रतिको जिम्मेवारीबाट विमुख हुनु दीर्घकालीन राजनीतिक संस्कारका लागि उचित नहुने उनको भनाइ छ।

विशेषगरी पद नपाएको झोक, अवसर गुमेको आक्रोश वा व्यक्तिगत स्वार्थ पूरा नभएका कारण राजनीतिक कित्ता परिवर्तन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै मोक्तानले हरेक राजनीतिक निर्णयको पछाडि स्पष्ट वैचारिक आधार, दृष्टिकोण र जनताप्रतिको जवाफदेहिता हुनुपर्ने बताएका छन्।

उनले पार्टीका जिम्मेवार नेता, कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै क्षणिक लाभभन्दा दीर्घकालीन राजनीतिक भविष्यलाई प्राथमिकता दिन आग्रह गरेका छन्। व्यक्तिभन्दा विचार, पदभन्दा सिद्धान्त र व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई माथि राख्नुपर्ने उनको धारणा छ।

मोक्तानले आलोचना गर्ने, प्रश्न उठाउने र गलत निर्णयको विरोध गर्ने अधिकारलाई स्वीकार गर्दै त्यसका बाबजुद पनि राजनीतिक मूल्य र मान्यताबाट विचलित हुन नहुने बताएका छन्।
‘हामी जिम्मेवार कार्यकर्ताहरू हरेक हावा र हुरीसँगै दिशा बदल्ने पात होइनौँ। हामी त प्रतिकूल समय र परिस्थितिमा पनि आफ्नो जरा बलियो बनाएर उभिने सत्तिसाल बन्नुपर्छ,’ उनले फेसबुकमा लेखेका छन्। उनले अन्त्यमा राजनीतिक यात्रालाई अवसर र स्वार्थसँग नभई विचार र सिद्धान्तसँग जोड्नुपर्ने सन्देश दिँदै राजनीति अवसरको व्यापार नभई विचार र निष्ठाको निरन्तर यात्रा भएको उल्लेख गरेका छन्।

मोक्तानको यो अभिव्यक्तिलाई पार्टीभित्रको राजनीतिक प्रतिबद्धता, संगठनात्मक निष्ठा र बदलिँदो राजनीतिक परिस्थितिमा कार्यकर्ताको भूमिकाबारे सार्वजनिक गरिएको धारणाका रूपमा लिन सकिन्छ।

प्रतिक्रिया