बुलेट मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु
काठमाडौँको चन्द्रागिरिमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।
चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकैको मोडमा शुक्रबार साँझ बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको हो।
दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी घर भएका अन्दाजी २५ वर्षीय रमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने अन्दाजी ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका छन्।
मकवानपुरतिरबाट सतुङ्गलतर्फ आउँदै गरेको बेला मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। गम्भीर घाइते चौधरीलाई प्रहरी प्रभाग मातातीर्थबाट खटिएको प्रहरीले उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पुर्याएको थियो।
उपचारका क्रममा राति नै मोटरसाइकल चालक रमेशको मृत्यु भएको प्रहरीले जनाएको छ। मेकबहादुर वाइबाको अवस्था भने मध्यम रहेको छ।

