धादिङमा जिप दुर्घटना : यी हुन् मृतक र घाइते, ६ जनालाई सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइयो

पालिका डायरी
४ मंसिर २०८३, ११:४०

धादिङमा गएराति बोलेरो जिप दुर्घटना हुँदा मृत्यु भएकी महिला र घाइतेहरूको पहिचान खुलेको छ ।

धादिङको रुबीभ्याली गाउँपालिका-४ स्थित कलदाङमा गएराति करिब २ बजे बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् । दुर्घटनामा बोलेरोमा सवार रुबीभ्याली गाउँपालिका-४ की ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरी प्रवक्ता (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।

प्रहरीका अनुसार नौ घाइतेमा रुबीभ्याली गाउँपालिका-४ का ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीय मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ छन्।

यसैगरी बोलेरो चालक धादिङको खनियाबास गाउँपालिका-१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका-११ निवासी २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन्।

घाइतेमध्ये कमल घले, विमल तामाङ, ललित बोम्जनलाई बोराङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल धादिङ पठाइएको डीएसपी दाहालले बताए। उनका अनुसार बाँकी ६ घाइतेलाई भने नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ।

लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया