भैँसेमा सुमो दुर्घटना : ३ जनाको मृत्यु, ७ जना घाइते
हेटौँडा / मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आज बिहान चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो भैँसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा सुमो चालकसहित १० जना सवार रहेकोमा सबै जना घाइते भएका थिए। दुर्घटनालगत्तै उनीहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो।
हेटौँडा अस्पतालमा चिकित्सकले परीक्षण गर्दा तीन जनालाई मृत घोषणा गरेका थिए। बाँकी सात जना घाइतेको हेटौँडा अस्पतालमै उपचार भइरहेको छ। घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुने तथा घाइते हुनेहरूको पहिचान र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया

