क्षमताभन्दा बढी सिट जडान गरिएका ३ विद्युतीय सवारीसाधनसहित ५ गाडीलाई कारबाही, ४५ हजार जरिवाना
हेटौँडा / बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै मकवानपुर प्रहरीले गरेको सवारी चेकजाँचका क्रममा क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका तीनवटा विद्युतीय सवारीसाधनसहित पाँचवटा सवारीसाधनलाई कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले बुधबार जिल्लाका विभिन्न चेकप्वाइन्टमा सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरिएका तीनवटा विद्युतीय सवारीसाधन फेला पारेको हो।
प्रहरीका अनुसार १४ सिट क्षमता तोकिएका ती विद्युतीय सवारीसाधनमा थप चारवटा सिट जडान गरी सञ्चालन गरिएको पाइएको थियो। सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा सोही ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम प्रतिगाडी १० हजार रुपैयाँका दरले जम्मा ३० हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै, आवश्यक कागजपत्रबिना सञ्चालन गरिएका दुईवटा सुमो तथा बोलेरोलाई समेत कारबाही गरिएको छ। ती सवारीसाधनलाई प्रतिगाडी ७ हजार ५०० रुपैयाँका दरले जम्मा १५ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
पाँचवटा सवारीसाधनलाई कारबाही गर्दा कुल ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै, स्थानीय सञ्चारकर्मीको रोहबरमा क्षमताभन्दा बढी जडान गरिएका सिटहरूसमेत निकालिएको प्रहरीले जनाएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले प्रदेश सरकारले तोकेको समय र मार्ग परिवर्तन गरी अन्य बाटो प्रयोग गर्दै हेटौँडातर्फ आएका २२ वटा विद्युतीय सवारीसाधन तथा सुमो गाडीलाई समेत आवश्यक ट्राफिक जरिवाना गरी छाडेको छ।
प्रहरीले सवारीसाधनको तोकिएको क्षमताभन्दा बढी सिट जडान गर्ने, आवश्यक कागजपत्रबिना सवारी सञ्चालन गर्ने तथा तोकिएको मार्ग र समय उल्लङ्घन गर्ने कार्य नियन्त्रण गर्न नियमित चेकजाँचलाई तीव्रता दिएको जनाएको छ।


