फास्ट ट्र्याकमा ऐतिहासिक उपलब्धि राष्ट्रपतिको उपस्थितिमा आज महादेवटार सुरुङको ब्रेक थ्रु
राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारस्थित निर्माणाधीन सुरुङमार्गको आज ब्रेक थ्रु हुने भएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको सुरुङ निर्माणको महत्वपूर्ण चरण पूरा हुन लागेसँगै फास्ट ट्र्याक आयोजनाले अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने भएको हो।
महादेवटार सुरुङको ब्रेक थ्रु राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत बिहान साढे ९ बजे महादेवटार आइपुग्ने कार्यक्रम तय भएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन्। आज ब्रेक थ्रु हुन लागेको सुरुङको लम्बाइ ३.४४५ किलोमिटर रहेको छ। यसै स्थानमा निर्माण भइरहेको अर्को ३.४८६ किलोमिटर लामो सुरुङको भने गत भदौमै ब्रेक थ्रु भइसकेको छ।
फास्ट ट्र्याकअन्तर्गत हाल सातवटा सुरुङ निर्माणाधीन अवस्थामा छन्। महादेवटार सुरुङको ब्रेक थ्रुसँगै आयोजनाको भौतिक प्रगतिमा थप महत्वपूर्ण उपलब्धि थपिने अपेक्षा गरिएको छ।
नेपाली सेनाले निर्माण व्यवस्थापन गरिरहेको राष्ट्रिय गौरवको यस आयोजनालाई १३ वटा प्याकेजमा विभाजन गरी काम अघि बढाइएको छ। तीमध्ये प्याकेज १ देखि १० सम्मका विभिन्न खण्डहरू निर्माण तथा कार्यान्वयनको चरणमा रहेका छन्।

