ओलीले भने- एमाले फेरि सरकारमा जान्छ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन्।
बुधबार काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फेरि सिंहदरबार पस्ने बताएका हुन्। एमाले कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा पुगेको र फेरि पुग्ने उनको भनाइ थियो।
‘फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ,’ ओलीले थपे, ‘देश बनाउँछ नेकपा (एमाले)ले।’
प्रतिक्रियावादी, जनविरोधी तथा देशको अहित चाहने शक्तिले चौतर्फी घेराबन्दीमा पारेर असंवैधानिक बाटोबाट सत्ताबाट हटाए पनि फेरि सत्तामा पुग्ने उनको भनाइ थियो।
‘नेकपा (एमाले) दया, माया, कृपाले बाँचेको पार्टी होइन। कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ। सरकारको नेतृत्व जनताको कृपाले गएका हौं,’ उनले भने, ‘अरू कुनै प्रतिक्रियावादी शक्तिहरू, जनविरोधी शक्तिहरू, देशद्रोही शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूका कृपा, आशीर्वादमा नेकपा (एमाले) सरकारमा गएको होइन।’
एमाले फेरि सरकारमा फर्किने र देशको विकास तथा समृद्धिका कामलाई अगाडि बढाउने उनले बताए। एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ अघि बढाउने ओलीको भनाइ थियो।

