द्रुतमार्गको सबैभन्दा लामो सुरुङ महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ 

पालिका डायरी
२ मंसिर २०८३, १३:५५
हेटौँडा /  तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुर खण्डमा निर्माण भइरहेको महादेवटार सुरुङको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ‘ब्रेक थ्रु’ गरेका छन्।

राष्ट्रपति पौडेलले निर्माणस्थलमा विस्फोट गराएर निजगढबाट काठमाडौँतर्फ जाने ३.४४५ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु गरेका हुन्।

सुरुङमार्ग ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले देशको सुरक्षाको जिम्मेवारी बहन गर्नुका साथै विकास निर्माणमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे। सेनाले द्रुतमार्ग निर्माणमा निष्ठापूर्वक काम गरिरहेको उल्लेख गर्दै उनले निर्धारित समयमै आयोजना सम्पन्न गर्न शुभकामना दिए।

कार्यक्रममा नेपाल सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले द्रुतमार्ग निर्माणका लागि अब समय थप गर्न नसकिने बताए। निर्धारित समयमा काम सम्पन्न नभए ठेक्का तोड्ने सरकारी नीतिअनुसार काम गर्न उनले निर्माण कम्पनीलाई आग्रह गरे। आयोजना सम्पन्न हुँदा नेपालमा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत योगदान पुग्ने उनको भनाइ थियो।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले महादेवटार सुरुङ निर्माणको जिम्मेवारी पाएको थियो। यहाँ समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि निजगढबाट काठमाडौँतर्फ जाने अर्को सुरुङको ब्रेक थ्रु भदौ दोस्रो सातामै सम्पन्न भइसकेको थियो। नेपाली सेनाका अनुसार महादेवटार सुरुङ नेपालको सबैभन्दा लामो सुरुङमार्ग बन्नेछ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म द्रुतमार्गको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ। यसमध्ये सुरुङमार्गको कुल दूरी ११.२ किलोमिटर रहनेछ।

द्रुतमार्गअन्तर्गत धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ भने अहिले फिनिसिङको काम भइरहेको छ। धेद्रे सुरुङ १ हजार ६ सय ९१ मिटर र लेनडाँडा सुरुङ १ हजार ६ सय २३ मिटर लामो छन्। यी दुवै स्थानमा भित्रिने र बाहिरिने गरी चारवटा सुरुङ निर्माण गरिएको हो।

त्यस्तै, २ हजार २ सय ३७ मिटर लामो चन्द्रामभीर सुरुङमध्ये ७ सय ८० मिटर खनिसकिएको छ। ५ सय २० मिटर लामो सिसौटार सुरुङमध्ये ५३ मिटर र १ हजार ८७ मिटर लामो देवीचौर सुरुङमध्ये १ सय २३ मिटर खनिएको नेपाली सेनाले जनाएको छ। ५ सय ८३ मिटर लामो मौरीभीर सुरुङ खन्न पोर्टल निर्माणको काम भइरहेको सेनाले जनाएको छ।

आयोजनाको हालसम्मको भौतिक प्रगति ५०.५४ प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत रहेको छ।

नेपाल सरकारले द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको नौ वर्ष पुगेको छ। सरकारले २०७४ साउन २७ गते सेनालाई निर्माणको जिम्मेवारी दिएको थियो। सुरुमा २०८१ मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काम नसकिएपछि पहिलोपटक चैत २०८३ सम्म म्याद थप गरिएको थियो। पछिल्लो पटक चैत २०८६ सम्मका लागि समय थपिएको छ।

आयोजनाको खोकना–डुकुछाप खण्डमा भने जग्गा अधिग्रहणसम्बन्धी समस्या अझै समाधान हुन सकेको छैन। आयोजनाको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापनबारे समेत निर्णय हुन बाँकी रहेको छ।

यस क्षेत्रमा डीपीआरअनुसार मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १३६ रोपनी, गुठीको जग्गा १४ रोपनी र मूल्य निर्धारण हुन बाँकी जग्गा १६५ रोपनी रहेको छ। स्मार्ट सिटी, बाहिरी चक्रपथ र द्रुतमार्गजस्ता आयोजना एउटै क्षेत्रमा निर्माण गर्दा पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका छन्।

द्रुतमार्गमा निर्माण गर्नुपर्ने ८९ पुलमध्ये ८५ वटाको ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको छ। खोकना खण्डका चारवटा पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन। हालसम्म पाँचवटा पुल निर्माण सम्पन्न भइसकेका छन्। आयोजनाअन्तर्गत ८२ मिटरसम्म अग्ला पुल निर्माण गरिएका छन्।

समग्र आयोजनाको भ्याटसहित लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। गत भदौ मसान्तसम्म आयोजनामा ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको छ।

प्रतिक्रिया