दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश छलफल न्यायाधीश फुयाल र पाण्डेयको इजलासमा

पालिका डायरी
७ मंसिर २०८३, ११:२२
आईजीपीबाट गैरकानुनी रूपमा हटाइएको भन्दै सर्वोच्च पुगे दानबहादुर कार्की

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वाेच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ हुने भएको छ।

यो रिटमा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको छ।  यसअघि बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा बोलाउने आदेश गरेको थियो।

कार्कीले आफूलाई तत्काल पुनरबहाली गर्न अन्तरिम आदेश समेत माग गरेका छन्। उनको माग अनुसार आदेश किन जारी हुनु नपर्ने हो ? भन्दै त्यसको कारणसहित १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश छ।

यस सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ को निर्णयको प्रमाणित प्रतिलिपि र यस सम्बन्धी अन्य कुनै कागजात फायल भए महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाउन पनि अदालतले भनेको थियो।

रिटलाई अग्राधिकार दिइएको छ। विषयवस्तुको प्रकृति र संवेदनशीलतालाई विचार गर्दा शीघ्र निर्णय गर्नु पर्ने प्रकृतिको देखिएको उल्लेख गर्दै पेशीमा अग्राधिकार दिई पेश गर्न भनिएको थियो। कात्तिक १८ गते कार्कीलाई हटाएर सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाएको छ। उनले त्यसैदिन दज्र्यानी चिन्ह लगाएर कार्यभार सम्हालेका थिए।

कात्तिक २० गते दर्ता भएको रिटमा ती सबै निर्णय बदर गरी आफूलाई जिम्मेवारीमा फर्काउन माग गरिएको छ।

प्रतिक्रिया