३३ प्रतिशत सहभागिताले मात्रै महिला मुक्ति सम्भव छैन, अब ५० प्रतिशत अधिकारका लागि संघर्ष गर्नुपर्छ : अनेमसंघ अध्यक्ष हमाल
हेटौँडा / अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) मकवानपुरको १५औँ जिल्ला सम्मेलन सुरु भएको छ। सम्मेलनले महिलाको राजनीतिक अधिकार, राज्यका सबै तहमा समान सहभागिता र महिला मुक्ति आन्दोलनलाई थप सशक्त बनाउने संकल्पसहित नयाँ जिल्ला नेतृत्व चयन गर्ने भएको छ।
जिल्ला कमिटीकी कार्यवाहक अध्यक्ष यशोदा उप्रेतीको अध्यक्षता तथा सचिव सुशिला मल्लको सञ्चालनमा भएको सम्मेलनको उद्घाटन अनेमसंघ केन्द्रीय कमिटी अध्यक्ष एवं नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य टुकाभद्र हमालले गर्नुभएको हो।
मकवानपुरका १० वटै स्थानीय तहबाट छनोट भएर आएका १७० जना प्रतिनिधिको सहभागिता रहेको सम्मेलनले आगामी कार्यकालका लागि नयाँ जिल्ला नेतृत्व चयन गर्नेछ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालसहितका वक्ताहरूले महिलाले विगतमा गरेको सशक्त आन्दोलनकै बलमा संविधान र राज्यका विभिन्न निकायमा महिलाको अधिकार तथा सहभागिता सुनिश्चित भएको उल्लेख गरे। तर, संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता मात्रै पर्याप्त नभएको उनीहरूको तर्क थियो।
वक्ताहरूले राज्यका हरेक तह, निकाय र संरचनामा महिलाको समान ५० प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिँदै त्यसका लागि महिला आन्दोलन अझ सशक्त बनाउनुपर्ने धारणा राखे।
राजनीतिक परिवर्तन र संवैधानिक व्यवस्थाका बाबजुद समाजमा महिलामाथि हुने विभेद, अपमान, हिंसा र असमानता अझै अन्त्य हुन नसकेको भन्दै उनीहरूले महिला अधिकारका लागि प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार स्थापित गर्न अनेमसंघले निर्णायक भूमिका खेल्नुपर्ने बताए। महिला मुक्ति आन्दोलनलाई नारामा मात्रै सीमित नराखी व्यवहारमै समान अधिकार र अवसर स्थापित गर्ने अभियानका रूपमा अघि बढाउनुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना, अनेमसंघ केन्द्रीय कमिटी सचिव एवं राष्ट्रिय सभा सदस्य मीना रखाल, केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज पद्मा पौडेल, केन्द्रीय सदस्य पार्वती राना तथा अनेमसंघ बागमती प्रदेश कमिटी अध्यक्ष सुमित्रा काफ्लेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसैगरी एमाले मकवानपुर जिल्ला सचिव सीता विष्ट र जनप्रतिनिधिका तर्फबाट हेटौँडा उपमहानगरपालिका–११ की वडाध्यक्ष जुना दाहालले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। जिल्ला कमिटी उपसचिव इन्दिरा तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो।
सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देल, एमाले बागमती प्रदेश कमिटी सदस्यहरू गोपाल श्रेष्ठ, बलराम बल, रामचन्द्र राई, दिलबहादुर घिसिङ, इन्द्रमान स्याङ्तान, अणराज जर्गा मगर, गणेशकुमारी प्रधान र भगवती पुडासैनीलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, एमाले मकवानपुर उपसचिव एवं हेटौँडा–१० का वडाध्यक्ष फुर्वादोर्जे लामा, हेटौँडा–१५ का वडाध्यक्ष सुनिल मोक्तान तथा एमाले हेटौँडा उपमहानगर कमिटी अध्यक्ष बोलबहादुर कार्कीलगायतका नेताहरूको पनि उपस्थिति थियो।
स्वर्गीय बालकुमारी थापा संस्थापक जिल्ला अध्यक्ष रहनुभएको अनेमसंघ मकवानपुरको १३औँ र १४औँ जिल्ला सम्मेलनबाट सुमित्रा काफ्ले अध्यक्षमा निर्वाचित हुनुभएको थियो। केही महिनाअघि काफ्ले अनेमसंघ बागमती प्रदेश कमिटी अध्यक्षमा चयन भएपछि तत्कालीन उपाध्यक्ष यशोदा उप्रेतीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।
यसपटकको सम्मेलनलाई अनेमसंघ मकवानपुरको नयाँ नेतृत्व चयनका दृष्टिले पनि चासोका साथ हेरिएको छ। बन्दसत्रले आगामी कार्यकालका लागि जिल्ला नेतृत्व चयन गर्नेछ। नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गरिने भए पनि सहमति जुट्न नसके लोकतान्त्रिक विधिअनुसार निर्वाचनमार्फत नेतृत्व चयन गरिने आयोजकले जनाएको छ।

