भीमफेदी दुर्घटना: मृत्यु संस्कारमा सहभागी हुन नुवाकोट जाँदै थिए एकै परिवारका ६ जना

पालिका डायरी
३ मंसिर २०८३, ११:५५
भीमफेदी दुर्घटना: मृत्यु संस्कारमा सहभागी हुन नुवाकोट जाँदै थिए एकै परिवारका ६ जना

दिदीको छोराको मृत्यु संस्कारमा सहभागी हुन १६ वर्षीया सुमिना थिङ बुवा र हजुरबुबाहरुसँगै आज नुवाकोट जाँदै थिइन्। तर, भदाको मृत्यु संस्कारमा सहभागी हुन निस्किइकी सुमिना परिवारका पाँच जनासहित बिहीबार बिहान मकवानपुरको भीमफेदीमा गाडी दुर्घटनामा परिन्।

रौतहटको चपुर नगरपालिका ३ गैँडाटार घर भएकी सुमिना बुवा कान्छोध्वज थिङ र बहिनीसहित नुवाकोट जाने क्रममा थिइन्।  तर, बिहीबार बिहान करिब साढे ८ बजे उनीहरू सवार ना.१ ज २१४३ नम्बरको सुमो मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित सुन्दरी मोडमा दुर्घटनामा परेको छ।

हेटौँडा–भैँसे सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।  दुर्घटनामा सुमिना, उनका बुवा कान्छाध्वज थिङ र बहिनी निमा रुम्बा र शिखा थिङलाई सामान्य चोटपटक लागेको छ।  उनीसँगै आएका सुमिनाको भिनाजु बमबहादुर वाइवाको भने मृत्यु भयो।  घाइतेहरुको यतिबेला हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ।

दुर्घटनाको क्षण सुमिनालाई सपना झैँ लागेको छ। गाडी कसरी अनियन्त्रित भयो भन्नेबारे उनलाई जानकारी छैन। गाडीले सडकको एकातिर रहेको कुनै संरचनामा ठक्कर दिएको मात्रै उनलाई थाहा छ। ‘गाठी ठोक्किएको मात्रै थाहा छ, अरू त थाहा छैन,’ उनले भनिन्।

दुर्घटनापछि सुमिना झ्यालबाट बाहिर निस्किएकी थिइन्। उनीसँगै रहेका बुवालाई पनि उद्धार गरिएको छ। ‘म चाहिँ झ्यालबाट निस्किएँ। बुवा पनि हुनुहुन्थ्यो मसँगै। प्रहरीहरुले बुवालाई निकाल्नुभयो,’ उनले दुर्घटनापछिको अवस्थाबारे भनिन्।

सुमिनाका अनुसार गैँडाटारबाट उनीसहित ६ जना सुमोमा चढेका थिए। सुमोमा ५८ वर्षीय कान्छाध्वज थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ लगायत थिए।  त्यसपछि टेकानबाट दुई जना र चपुरबाट एक जना सुमोमा चढेका थिए। विभिन्न स्थानबाट यात्रु बोकेर नुवाकोटतर्फ अघि बढेको सुमोमा सुमिना, उनका बुवा र भाइ पनि सवार थिए।

दिदीको छोराको मृत्यु भएपछि भोलि हुँदै गरेको २१ औँ दिनको काममा सहभागी हुन उनीहरू नुवाकोट जाँर्दै गर्दा दुर्घटनामा परेका हुन्। आफन्तको मृत्यु संस्कारमा सहभागी हुन घरबाट निस्किएकी सुमिनाको यात्रा भने भीमफेदीमा भएको दुर्घटनाले बीचैमा रोकिएको छ।

प्रतिक्रिया