जनताको निराशा चिर्न एमालेको ३५ दिने ‘मिसन पार्टी जागरण अभियान’ थाहा बाट सुरु

पालिका डायरी
१५ कार्तिक २०८३, १७:२३

हेटौँडा /  जनतासँग कमजोर बनेको सम्बन्ध पुनः स्थापित गर्दै संगठनलाई वडातहसम्मै सुदृढ बनाउने उद्देश्यसहित नेकपा एमालेले मकवानपुरको थाहा नगरपालिकामा ३५ दिने ‘मिसन पार्टी जागरण अभियान’ सुरु गरेको छ।

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित पूर्वसांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यमा आइतबार नगर कमिटीको विस्तारित बैठकसँगै अभियान औपचारिक रूपमा सुरु गरिएको हो।

पार्टीप्रति जनतामा देखिएको निराशा र असन्तुष्टिलाई सम्बोधन गर्दै जनतासँग टुटेको सम्बन्ध पुनः जोड्ने तथा पार्टीलाई आगामी दिनमा निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित एमालेले देशव्यापी रूपमा ‘मिसन पार्टी जागरण अभियान’ सञ्चालन गरिरहेको छ।

पार्टीको केन्द्रीय नीतिअनुसार थाहामा सुरु भएको अभियान आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ। अभियानअन्तर्गत नगरपालिकाका प्रत्येक वडामा पुगेर पार्टी संगठनको पुनर्निर्माण, वडा कमिटीको सुदृढीकरण तथा जनवर्गीय र भ्रातृ संगठनहरूलाई व्यवस्थित एवं अद्यावधिक गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य बर्तौलाले जानकारी दिए।

अभियान केवल संगठन विस्तारमा सीमित नरहने बताउँदै बर्तौलाले जनताको घरदैलोसम्म पुगेर उनीहरूका गुनासा, सुझाव, अपेक्षा र असन्तुष्टि सुन्ने तथा त्यसका आधारमा पार्टीलाई सुधार गर्दै अघि बढ्ने बताए।

नेकपा एमालेको केन्द्रीय कमिटीले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएपछि बर्तौलाले थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकामा अभियान सञ्चालन गर्ने जिम्मेवारी पाएका छन्।

जनतासँगको सम्बन्ध पुनः जोड्ने, संगठनलाई तल्लो तहसम्म चलायमान बनाउने र जनताको सुझावका आधारमा पार्टीलाई रूपान्तरण गर्ने लक्ष्यसहित एमालेले मकवानपुरमा जागरण अभियानलाई अघि बढाएको छ।

प्रतिक्रिया