लोप हुँदै गएको संस्कृति ब्युँताउँदै वडाध्यक्ष केसी, हेटौँडा–९ मा फेरि घुम्यो रोटे पिङ
हेटौँडा / पुर्खाले जोगाउँदै ल्याएका मौलिक संस्कृति र परम्परा पछिल्लो पुस्ताले बिर्संदै जान थालेका छन्। यस्ता संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई चिनाउने उद्देश्यले हेटौँडा उपमहानगरपालिका–९ मा रोटे पिङ निर्माण गरिएको छ।
रोटे पिङ संस्कृति र पहिचानसँग जोडिएको विषय भएको उल्लेख गर्दै वडाध्यक्ष सुकराम केसीले मौलिक संस्कृतिको जगेर्ना गर्न आफूले रोटे पिङ निर्माणको पहल गरेको बताए। उनले यसको उद्देश्य मनोरञ्जन प्रदान गर्नु मात्र नभई नयाँ पुस्तालाई पुरानो संस्कृति र परम्पराबारे परिचित गराउनु पनि रहेको बताए।
वडाध्यक्ष केसीका अनुसार रोटे पिङ निर्माणसँगै स्थानीय बालबालिका, युवा तथा ज्येष्ठ नागरिकमा समेत उत्साह थपिएको छ।
विगतमा दसैँ आउनासाथ गाउँघरमा रोटे पिङ र लिङ्गे पिङ हाल्ने प्रचलन रहे पनि पछिल्लो समय यस्ता परम्परागत मनोरञ्जनका साधन हराउँदै गएका छन्। यही अवस्थालाई मध्यनजर गर्दै हेटौँडा–९ मा गरिएको यस प्रयासले मौलिक संस्कृतिको संरक्षणमा सकारात्मक सन्देश दिएको छ।
रोटे पिङको निर्माणले स्थानीयस्तरमा मनोरञ्जनको अवसर सिर्जना गर्नुका साथै पुराना पुस्ताका सम्झनालाई ताजा बनाउने र नयाँ पुस्तालाई आफ्नो संस्कृति तथा परम्पराप्रति आकर्षित गर्ने विश्वास लिइएको छ।
आधुनिकताको विकाससँगै पुराना संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेको वर्तमान अवस्थामा हेटौँडा–९ का वडाध्यक्ष केसीले थालेको यो पहल मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि महत्त्वपूर्ण प्रयासका रूपमा लिन सकिन्छ।


