नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ।
थाहा नगर समितिका सभापति राजेन्द्रभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, उद्योगी–व्यवसायी, पत्रकार, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता थियो।
कार्यक्रममा वक्ताहरूले नेपाली चाडपर्वले आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले पार्टीको १५औँ महाधिवेशन तथा नयाँ नेतृत्व चयनपछि कांग्रेसमा थपिएको उत्साहलाई संगठन सुदृढीकरण र जनताको सेवामा केन्द्रित गर्नुपर्नेमा जोड दिए।
थाहा नगरको समग्र विकास, कृषि, पर्यटन तथा पूर्वाधार निर्माणमा कांग्रेसले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि वक्ताहरूले व्यक्त गरे।
थाहा नगरपालिकाका उपप्रमुख एवं कांग्रेस नेता भरत गोपालीले स्थानीय सरकार नगरवासीको भावना र आवश्यकताअनुसारका काम अघि बढाउन सक्रिय रहेको बताए। उनले आगामी दिनमा पनि जनताको सेवामा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका सभापति श्रेष्ठले सहभागी सबैलाई धन्यवाद दिँदै चाडपर्वले सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याउने शुभकामना व्यक्त गरे। उनले कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रमले राजनीतिक दल र नागरिकबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।



