राष्ट्रवादी र लोकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्छ: सिग्देल

पालिका डायरी
३० आश्विन २०८३, १६:५९
राष्ट्रवादी र लोकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्छ: सिग्देल

हेटौँडा /  नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले राष्ट्रवादी र लोकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्ने बता।एका छन् ।

नेकपा एमाले मकवानपुरको गढी गाउँपालिका–५ नम्बर वडा कमिटीद्वारा चाडपर्वको अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सिग्देलले नेपालको इतिहासमै राष्ट्रियता सङ्कटमा परेको, विदेशी चलखेल बढेको तथा संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताएका हुन् । कार्यक्रममा शुभकामना व्यक्त गर्दै उनले राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षाका लागि राष्ट्रवादी र लोकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

उनले राष्ट्रियता र लोकतन्त्रका लागि लामो सङ्घर्ष गरेका दलहरूविरुद्ध गलत प्रचार गरेर जनमत प्राप्त गरेको सरकार केही महिनामै सरकार सञ्चालन गर्न असक्षम भएको दाबी गरे । सुकुम्बासीको उठिबास लगाउने, विपत्तिमा समेत सहकार्य गर्न तयार नहुने, अरू दललाई अनावश्यक आरोप लगाउने, सङ्घसंस्थामाथि प्रतिबन्ध लगाउने तथा सरकार प्रमुखले राष्ट्रियताबारे अनावश्यक शब्दहरू संसद्मा बोल्ने जस्ता गतिविधि सरकारको असक्षमताका उदाहरण भएको उनले बताए ।

मुलुकमा दिनहुँ हत्या, हिंसा र महँगी बढ्दै जाँदा जनताको दैनिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै उहाँले लोकतन्त्रका लागि लामो सङ्घर्ष गरेका दलहरू राष्ट्र र जनताका समस्यालाई टुलुटुलु हेरेर बस्न नसक्ने साझा मुद्दामा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा सिग्देलको जोड थियो ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य विदुर हुँमागाईंले विकास र समृद्धिका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् । बलियो एमालेले आगामी स्थानीय तहको निर्वाचनमा विजय हासिल गरी समृद्ध पालिका निर्माणको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो । उनले सबै नेता तथा कार्यकर्ताको ध्यान पार्टी निर्माण र स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।

वडा पार्टी अध्यक्ष रमेश तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश लेखा कमिटीका सचिव हरि कँडेल, जिल्ला सचिवालय सदस्य मेम्बर लो, जिल्ला सदस्यहरू रामजी सापकोटा र सन्तोष पौडेल, पालिका कमिटीका अध्यक्ष जीतबहादुर घिमिरे, पेसागत महासङ्घ नेपालका प्रदेश उपाध्यक्ष सीताराम दाहाल, अनेकि सङ्घका जिल्ला अध्यक्ष विष्णु दंगाल, अनेरास्ववियु हेटौँडा उपमहानगर कमिटीका अध्यक्ष रिजन जिसीलगायत विभिन्न पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको वडा सचिव शिवराज तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया