राक्सिराङका चेपाङको घर आगलागीबाट पूर्ण रूपमा क्षति

पालिका डायरी
२ कार्तिक २०८३, २०:४३

मकवानपुरको राक्सिराङ गाउँपालिका–२ जुवालमा भएको आगलागीले धनबहादुर चेपाङको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आइतबार (आज) अचानक आगलागि हुँदा घर पूर्णरूपमा क्षति भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। अध्यक्ष मल्लका अनुसार दशैंका बेला घर जलेर खरानी भएपछि चेपाङ परिवारको बसोबासमा संकट थपिएको छ। आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएपछि पीडित परिवारलाई राक्सिराङ गाउँपालिकाले तत्काल राहत सामग्री उपलब्ध गराएको उनको भनाइ छ।

आगलागीको खबर प्राप्त हुनासाथ आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नगर प्रहरी लगायत स्थानीयहरूले सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट घर नै गुमाउनुपरेपछि परिवारलाई बसोबास र दैनिक जीवनयापनमा थप कठिनाइ हुने अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले तत्काल राहत सामग्री वितरण गरेको उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष मल्लले विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको बताए। उनले आगलागीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको जानकारी दिँदै आगलागीजस्ता विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन सबैलाई आग्रहसमेत गरे। आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको थप विवरणसमेत प्राप्त भएको छैन।

प्रतिक्रिया