ताल फुटेपछि बाढी आउँछ’– एमाले नेतृत्वलाई थापाको सन्देश

राम कुमार दानी
१९ आश्विन २०८३, २१:०८

हेटौँडा /  नेकपा (एमाले) का  नेता तथा हेटौँडा उपमहानगरपालिका–५ का वडा सदस्य एवं न्यायिक समिति सदस्य ज्ञान बहादुर थापाले पार्टी संगठनभित्रको नेतृत्व र कार्यशैलीप्रति  राजनीतिक सन्देश सार्वजनिक गरेका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले संगठनलाई घर वा मन्दिर र त्यसमा आबद्ध सबैलाई परिवार सम्झिएर लामो समयदेखि संगठन निर्माणमा त्याग, इमानदारी र जिम्मेवारीपूर्वक काम गर्दै आएको उल्लेख गरेका छन्। उनले यस्तो त्यागलाई ‘महानता’ नभई ‘कायरता’का रूपमा बुझिए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने चेतावनीसमेत दिएका छन्।

उनले ‘को बलियो, को कमजोर भन्ने कुरा भोलिका दिनले बताउँछ’ भन्दै व्यक्ति भन्दा संगठन बलियो हुनुपर्ने धारणा राखेका छन्। उनले जनतालाई भगवानको संज्ञा दिँदै जनताको रोजाइ र खोजाइभन्दा नेतृत्व फरक दिशामा गए त्यसबाट आउने सम्पूर्ण जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्।

थापाले पछिल्लो समय देखिएका विपत्तिका घटनालाई उदाहरण दिँदै लामो समयदेखि जमेर बसेको ताल फुट्दा विनाशकारी बाढी आएजस्तै संगठनभित्र पनि लामो समयदेखि दबिएका असन्तुष्टि कुनै बेला विस्फोट हुनसक्ने संकेत गरेका छन्।

उनले ‘अब कति दिन सहने ? कति धैर्य गर्ने ? धैर्यको पनि सीमा हुन्छ’ भन्दै नेतृत्वप्रति गम्भीर प्रश्नसमेत उठाएका छन्।

उनको अभिव्यक्तिको अन्त्यमा ‘अहिले पढ्दा हजुरहरूलाई मन दुख्न सक्छ, तर यो भोलि सबैलाई पर्ने कुरा हो, तीतो सत्य हो’ भनेका छन्। उक्त अभिव्यक्तिलाई एमालेभित्र नेतृत्व र संगठन सञ्चालनको शैलीप्रति उनको असन्तुष्टि तथा आगामी दिनमा आउन सक्ने राजनीतिक परिणामप्रतिको संकेतका रूपमा अर्थ्याउन सकिन्छ।

थापाको यो अभिव्यक्तिले एमालेको स्थानीय संगठनभित्र नेतृत्व, कार्यशैली र कार्यकर्ताको धैर्यको सीमाबारे बहस चर्किन सक्ने संकेत गरेको छ।

प्रतिक्रिया