कुलेखानीमा पानीको सतह १ हजार ५२४ मिटर पुग्यो, १ हजार ५२७ मिटरमा साइरन बजाइने
फोटोः सुवास थापा मगर
मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह केही बढेको छ । अविरल वर्षासँगै जलाशयमा शनिबार बिहान १२ बजेकाे समयसम्म पानीको सतह १ हजार ५२४ मिटर पुगेको हो । शुक्रबार (हिजो) राति १२ बजेसम्म उक्त जलाशयमा १ हजार ५२३.६० मिटर पानी थियो।
कुलेखानी प्रथम जलविद्युत् आयोजनाका कार्यालय प्रमुख प्रल्हाद राउतका अनुसार जलाशयमा हाल मापन गरिएको पानीको सतह जोखिमपूर्ण अवस्थामा पुगेको छैन । जलाशयमा अधिकतम १ हजार ५३० मिटरसम्म पानी भण्डारण गर्न सक्ने क्षमता छ ।
पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि साइरन बजाउने तयारी गरिएको राउतले बताए । हालको पानीको सतह अधिकतम भण्डारण क्षमताभन्दा करिब ६ मिटर तल रहेकाले तत्काल जोखिमको अवस्था नरहेको उनको भनाइ छ ।
अविरल वर्षाका कारण जलाशयमा पानीको सतह थप बढ्न सक्ने भएकाले आयोजनाले पानीको सतह र जलाशयमा भइरहेको पानीको आगमनलाई निरन्तर निगरानी गरिरहेको छ । हाल भने कुलेखानी जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको राउतले बताए ।
विद्युत् उत्पादनका लागि सबै मेसिनहरू चलाइदा पानी धेरै भरिन नपाएको कार्य प्रमुख राउतको भनाइ छ । जलाशयमा पानीको सतह निर्धारित तहमा पुगेपछि साइरनमार्फत पूर्वसूचना दिने व्यवस्था रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको आयोजनाले जनाएको छ ।


